News Category 2070/12/22

करोडौं ऋणबारे खचाञ्जी निलम्बित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ चैत । 
ऋण लिन धितो राखेको गहना नक्कली भएको आशंका लागेपछि सप्तरीको कंचनपुरस्थित नेपाल बैंक लिमिटेडमा छानबिन गर्न आएको टोलीले बैंकका खचाञ्जीलाई निलम्बन गरेको छ । उनी दोषी देखिएको भन्दै टोलीले तत्कालका लागि निलम्बन गरेको हो । 
खचाञ्जी मेगुलाल चौधरीलाई निलम्बन गरिएको छ । गहना चिनेर कागजात बनाउने काम उसैको भएकाले तत्कालका लागि उनलाई निलम्बन गरिएको छ । 
संबिधानसभा निर्वाचनको समयमा फोरम लोकतान्त्रिकको तर्फबाट उम्मेदबार बनेका स्थानीय दिपक सोनीले ऋण लिन बैंकमा सुनका गहना धितो राखेका थिए । धितो राखेको सुनको गहना नक्कली भएको आशंका गरिएको छ । नक्कली भएकै आशंकामा छानबिन शुरु गरिएको छ । नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालय, विराटनगर कार्यालयबाट प्रतिनिधी तथा आधा दर्जन संख्यामा अडिटरहरु र गहना चिन्ने विज्ञहरु छानबिनका लागि यहाँ आएका छन् ।’ 
नेपाल बैंक लिमिटेड कंचनपुरका प्रमुख रुपेश श्रीवास्तवले धितो लिने बेला राम्रोसँग चेकजाँच नगर्दा यस्तो समस्या आएको बताए ।
गत मंसिरमा भएको संबिधानसभा निर्वाचनभन्दा केहि महिना अगाडि कंचनपुर ७ का गहना व्यापारी टोकनाथ भनिने दिपक सोनीले ऋण लिन सुनको गहना बैंकमा धितो वापत राखेका थिए । उनले ४ करोड रुपैयाँ बैंकबाट ऋण लिएको बैंक श्रोतले जनाएको छ ।  
बैंकका यसअघिका म्यानेजर रामेश्वर चौधरीको पालामा सोनीले ऋण लिएका हुन् । चौधरीकै कार्यकालमा सोनीले चार करोड रुपैयाँ सुनको गहना बन्धकी राखेर ऋण लिइएको हो । ‘आउनेबित्तिकै सबै हरहिसाव र धितो राखिएका गहनाहरुका बिषयमा जानकारी लिन खोज्दा केहि गहनामा समस्या देखियो’ श्रीवास्तवले भने, ‘‘यसैले छानबिनका लागि केन्द्रिय कार्यालयसहित बिभिन्न ठाउँबाट विज्ञहरुलाई बोलाएका छौं । 
गहना नहेरी कसरी ऋण दिइयो ? भन्ने प्रश्नको उत्तरमा बैंक प्रमुख श्रीवास्तवले छानबिन भइरहेकाले तत्काल केहि भन्ने अवस्था नरहेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट