News Category 2071/01/30

बढ्दो गर्मीले दैनिक जीवन कष्टकर बन्दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ बैशाख । 
विगत एक सातादेखि दिन प्रतिदिन बढ्दै गएको गर्मीले सप्तरीका बासिन्दाहरुको दिनचर्या कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीले दिउँसो मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ । 
यस्तै गर्मीकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ । सप्तरीमा सबै भन्दा बढी अड्डा अदालतको काम हुने जिल्ला भएपनि अहिले अदालतमा झगडीयाहरुको उपस्थितिमा कमी आएको हो । 
सदरमुकाम राजविराजमा अवस्थित सगरमाथा अञ्चलका कूल ६ वटै जिल्लालाई हेर्ने पुनरावेदन अदालत र सप्तरी जिल्ला अदालतमा यसअघि दिनहुँ सयौंको संख्यामा झगडीयाहरु आउने गरिन्थ्यो । तर, अहिले बढेको गर्मी सहन नसकेर अतिआवश्यक काम बाहेकको अवस्थामा सेवाग्राहीहरुको आउने क्रममा कमि आएको छ । 
गर्मीका कारण जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुले समय अगावै दिउँसोको सेसनलाई बिहानमा परिणत गरेको छ ।
सप्तरीमा अहिले दैनिक तापक्रम ३५ देखी ४० डिग्री सेल्सियस रहेको छ । गतवर्षहरु भन्दा यसवर्ष वैशाखको सुरुमै गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन् । गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको सप्तरी भारदहका अगुवा किसान बच्चालाल मण्डलले गुनासो गर्नुभयो । 
यसैगरी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, डाइरियाका बिरामीहरु भर्ना रहेको छ । भर्ना भएका बिरामीहरुमध्ये खासगरी बालबालिका बढी प्रभावित भएको अस्पताल श्रोतले जनाएको छ ।
जिल्लामा दिनको ८ देखी १० घण्टासम्म मात्र विद्युत सूचारु रहेकोमा गर्मीले झन जनजिवन अस्तव्यस्त पारेको छ । बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म बिजुली सूचारु रहेपनि सो समयमा बिजुली छिन–छिनमै काटिनुले आममानिस पंखा चलाएर बस्न सकिने सहज छैन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट