News Category 2077/04/22

मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ

दैनिक समाचारदाता

मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 
    कोरोनाको मिल्दोजुल्दो लक्षणसहित एकै दिन मृत्यु भएका सप्तरीका तीन जना मध्ये एकको रिपोर्ट पोजेटिभ र दुई जनाको नेगेटिभ आएको छ । 
जिल्लाको रुपनी गाउँपालिका ५ निवासी ४५ वर्षिय बिन्देश्वर साहको रिपोर्ट पोजेटिभ आएको हो । यता रिपोर्ट पोजेटिभ आएपछि मृतकको घर सिल गरिएको छ ।  
बुधबारै राती उनको रिपोर्ट पोजेटिभ आएपछि अहिले उनको घर सिल गरेर परिवारको पाँचजनाको समेत स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
उनलाई मंगलबार उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा सोही राती अस्पतालको प्रवेशद्वार पुग्ने बित्तिकै मृत्यु भएपछि घर फिर्ता ल्याइएको थियो । घरमा ल्याइ बुधबार बिहान अन्त्येष्टिको तयारी हुँदै गर्दा गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जिल्ला स्वास्थ्य कार्यालय तथा प्रहरीलाई यसबारे खबर गरेपछि अन्त्येष्टि रोकिएको थियो । 
    स्वाब संकलन नगरिकन अन्त्येष्टि गर्न नमिल्ने भन्दै रोकिएको र पछि उनको स्वाब संकलन गरेर पिपिईइ लगायतका सुरक्षाकर्मीसहित ८ जनालाई अन्त्येष्टिमा सहभागि हुन अनुमति दिएपछि उनको अन्त्येष्टि गरिएको थियो । 
    यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेका डाक्नश्वरी नगरपालिका ९ बस्ने ८१ वर्षिय मंगलु खंग तथा राजगढ गाउँपालिका ६ बस्ने ८० वर्षिय बच्चालाल सुतिहारको रिपोर्ट भने नेगेटिभ आएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् । 
    उनीहरुको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार मध्यराती मृत्यु भएको थियो । दुबैको स्वाब संकलनपछि बुधबार अबेर राती अन्त्येष्टि गरिएको परिवारजनले जानकारी दिएका छन् । 
    योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि गत असार ३१ गते राजविराज ६ का ७२ वर्षिय व्यवसायी रामकृष्ण दासको कोरोनाकै कारण मृत्यु भएको थियो । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट