News Category 2077/04/23

३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द

दैनिक समाचारदाता

३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 
    ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शुक्रबार बिहानदेखी सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।
    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् । 
    स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्को तिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा. झाले यसतर्फ प्रदेश र संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने आग्रह समेत गरेका छन् । 
सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाई छ । 
एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण गाइनोमा पनि शल्यक्रिया सेवा पनि बन्द भएको उनले बताए । बाँकी रहेका ५ जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरि ९ जनाको भरमा अस्पताल संचालन गर्न कठिनाइ भएको उनको भनाई छ ।
    यता सप्तरीमा दैनिक संक्रमित फेला पर्दै गएपछि स्थानिय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ । जसकारण बजारहरु सुनसान बनेको छ भने जनजिवन कष्टकर बन्दै गएको छ । जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या ५ सय ५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट