News Category 2077/08/20

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै

दैनिक समाचारदाता

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै

    राजविराज÷मधेशको लाइफ लाइने मानिने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । 
    हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफै हटाउन स्थानीय प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचना मार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेको छ । 
    हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँ÷बायाँ १५÷१५ मिटर भित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनाहरु डोजर लगाएर शनिबारदेखी भत्काउन शुरु गरेको हो ।
    राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, सप्तरी जिल्ला अदालत लगायतका कार्यालयको कम्पाउण्ड वाल भत्काइएको छ । 
    हुलाकी राजमार्ग निर्माणका क्रममा सिरहा रोडमा केही समस्या देखिएपनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल र आपसी सहमतिको माध्यमबाट निकास दिने काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले बताए । 
    हुलाकी राजमार्ग अन्तर्गत हालसम्म १५ कि.मि. सडकमा पहिलो लेयरको कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
    सप्तरी जिल्लामा कञ्चनपुरदेखि राजविराजसम्म एउटा र राजविराजदेखि बलान विहुलसम्म अर्को खण्ड गरी दुई वटा योजना अन्तरगत ४६ कि.मि. सडक खण्डमा कुल २२ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा सम्पन्न भइसकेको छ भने बाँकी १६ वटा पुल निर्माणकै क्रममा रहेको उनले जानकारी दिए । 
    दुवै योजना गरी झण्डै २ अर्बमा निर्माण हुने सप्तरी खण्डको निर्माण कार्यको जिम्मा रौता, श्रेष्ठ र दिवा कन्स्ट्रशनले पाएको छ । २०७८ बैशाखसम्म हुलाकी सडकको सप्तरी खण्डमा काम पुरा गरिसक्ने लक्ष्य रहेपनि कतै अवरोध र कतै कानूनी लडाईको समस्यासँगसँगै कोरोना महामारीले पनि ढिलाई भएको बताउँदै आयोजनाका इन्जिनियर कर्णले २०७८ को शुरुवातमा सम्भव नभएपनि २०७८ को अन्त्यसम्मा भने निर्माण कार्य सम्पन्न गरिसक्ने दावी गरेका छन् ।
    जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्लाको समग्र विकासका लागि प्रत्यक्ष प्रभाव पार्ने हुलाकी सडकलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । यता अतिक्रमण हटेलगत्ते सडक सम्याउने, सरसफाई गर्ने र सवारी व्यवस्थापन मिलाएर अस्तव्यस्त आवागमन सहज बनाउने राजविराज नगरपालिकाको तयारी छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट