News Category 2071/03/05

अदालतको आदेशको अपहेलना फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेख्ने रहमानलाई काठमाडौं पठाइयो

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ४ असार । 
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले बुधबार रात्रि बसबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।
बिद्युतिय कारोबार ऐन विपरितको अपराध मुद्दामा पोर्ताहा गाविस १ का मो.ं अब्दुल रहमानलाई राजविराज–५ रुपनी मोडस्थित अस्थायी ट्राफिक पोस्टबाट राति ७ः१५ बजे न्यू पुजा डिलक्स बसमा चढाई काठमाडौं पठाइएको उनका बुवा इसराइल मियाँले जानकारी दिनुभएको छ ।  बिद्युतिय कारोबार ऐन विपरितको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौं जिल्ला अदालतको भएको भन्दै सप्तरी जिल्ला अदालतले मंगलबार गरेको आदेशअनुरुप उनलाई बुधबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यता रहमानलाई गैरकानुनी तरिकाबाट प्रहरीले हिरासतमा राखेको भन्दै रहमानको हकमा उनका बुवा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार पुनरावेदन अदालतका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले बन्दी प्रत्यक्षीकरण रिट आदेश गरेको छ ।
रिट आदेशमा अदालतले बुधबार म्याद सूचना पाएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका नाममा म्याद सूचना जारी गरेको छ ।
रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ताहरु नविन सिंह, समिम अख्तर अली, महेन्द्र चौधरी, नवराज क्षेत्री, श्यामनारायण साहले बहस गर्नुभएको थियो ।
अधिवक्ता अलीका अनुसार पुनरावेदन अदालतको आदेशसहित निवेदनको प्रतिलिपी बुधबार ४ः३० बजे जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।   
नागरिक दैनिकमा छापिएको ‘सप्तरीमा सुध्रिँदो सुरक्षा’ नामक समाचारको कटिंग फेसबुकमा गत जेठ १७ गते पोष्ट भएको थियो । सोही शिर्षकको समाचार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति उनले ‘‘के को सुध्रिुनु आफ्नै चोरी भएको बाइक फिर्काउन पैसा तिर्नु परिरहेछ । त्यो पनि ५० हजार ।’’ भन्ने प्रतिक्रिया रहमानले लेखेका थिए ।
प्रहरीले प्रतिक्रिया लेख्ने रहमानविरुद्ध गत जेठ १९ गते बिधुतिय कारोबार ऐन विपरितको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा गत सोमबार पेश गरेको थियो । राजविराज–३ मा जुत्ता–चप्पलका थोक बिक्रेता रहमानलाई पसल अगाडिबाट जेठ १८ गते दिउँसो १ बजे पक्राउ गरेको उनका बुवा इसराइलले बताउनु भयो ।
रहमानले आफ्ना एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको पिडा सुनाएको आधारमा आफुले त्यस्तो प्रतिक्रिया लेखेपनि कसैको नाम अंकित नगरेकोले सामान्य ढंगले लिन आग्रह गर्दै आएका थिए ।
स्मरण रहोस् गत जेठमै गृहमन्त्री वामदेव गौतमविरुद्ध कमेन्ट लेख्ने इलाका प्रशासन कार्यालय लहानका प्रमुख राजुप्रसाद साहलाई प्रहरीले पक्राउ गरी तीन दिनमै छाडिदिएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट