News Category 2071/03/13

राजविराज सहर व्यवस्थित बन्नतर्फ उन्मुख हु“दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ असार ।
भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित नेपालकै पहिलो टाउन प्लानिङ राजविराज सहर अहिले व्यवस्थित बन्न तर्फ उन्मूख हुँदैछ । 
व्यापारी परियोजनका लागि सडक छेउमा बनाइएको पेटीलाई नगरपालिका अग्रसर भएपछि हटाउन सुरु गरेको छ । नगरको सडक छेउमा बनाइएको टहरा, कठघरा, गुम्ति लगायतलाई नगरपालिकाले हटाई सहर व्यवस्थित गर्न लागिपरेको हो । 
यस्तै सहरको विभिन्न बाटोहरुलाई नगरपालिकाले विभिन्न उपभोक्ता समिति निर्माण गरि फराकिलो तथा नाला निर्माण गर्न लागिपरेको छ भने अतिक्रमण गरेर घर, टहरा बनाइएको स्थानलाई समेत खुल्ला गरेको छ । 
यस्तै नगरभित्र रहेको विभिन्न सडकहरुलाई माटो हाली ग्राभेल, पिचिङ्ग र ढलाई गर्ने काम तिब्रता गतिले भइरहेको राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो । 
यी कामहरु अहिले राजविराज नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६ मा भइरहेको छ । वर्षौदेखी वडा नं. १ हटियास्थित दक्षिणपट्टीको बाटो अतिक्रमण गरि बनाइएको घरहरु हालै भत्काइ त्यसलाई पुनः बाटोमै परिवर्तन गरिएको छ । त्यस्तै वडा नं. १ स्थित वन कार्यालयदेखी पूर्व बाटो बिहीबार जेसिबी लगाई माटो मिलाउने काम सुरु गरिएको छ भने शुक्रबार र शनिबार त्यस बाटोमा ढलाई गर्ने कामको थालनी गरिने जनाइएको छ । 
राजविराज वडा नं. ५ हिमालय टोलमा उपभोक्ता समिति मार्फत नाला बनाउने कार्य सम्पन्न भएको छ भने वडा नं. ६ स्थित जिल्ला प्रशासन कार्यालय सडकदेखी ६ सय मिटर पश्चिम पिचिङ्ग गर्ने काम समेत अन्तिम चरणमा उपभोक्ता समितिका अध्यक्ष दिपक झाले जानकारी दिनुभयो ।
त्यसैगरि वडा नं. ६ स्थित बाटोमा माटो हाल्नेदेखी ग्राभेल गर्ने काम पनि अन्तिम चरणमा पुगेको उपभोक्ता समिति अध्यक्ष अमिरनारायण यादवले जानकारी दिनुभयो । 
त्यस्तै वडा नंं ४ स्थित सिनेमा हल पछाडीको बाटोमा समेत पिचिङ्ग गर्ने काम धमाधम भइरहेको छ । त्यस्तै नगरपालिका अन्तरगत पर्ने करिब एक दर्जन बाटोलाई पुनःनिर्माण गर्ने काम थालिएको छ । 
यता यातायातका साधनहरु बीच सडकमै पार्किङ गर्ने व्यवस्था समेत मिलाइरहेको राजविराज कार्यकारी अधिकृत गुरुङ्गले बताउनुभयो ।
यता घर निर्माणका सामाग्रिहरु पनि बिच बाटोमै राख्नेलाई जरिवाना तिराउने नियम बनाइएको तथा नगरमा छाडा रुपमा छाडिएका सुँगुरहरुलाई समेत नियन्त्रण गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिका भित्रै निर्माण गरिएको तरकारी हटिया बजार जुन अहिले नगरकै मुटुमा केन्द्रित रहेका छ त्यसलाई पनि व्यवस्थित बनाउन तर्फ नगरपालिका अग्रसर भइरहेको तथा तरकारी, दाउरा, खसी, बोका, दुघ, माछा, मासु, माटोका भाडाँकुडाँ लगायत अन्य दैनिक उपभोग्य बस्तुहरुको बिक्रि केन्द्रलाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको छ ।
यद्दपी तरकारी बाहेक अन्य सामाग्रिका लागि सोही हाट बजारमा बेग्लै स्थान छुट्याइए पनि एकै ठाउँमा अव्यवस्थित तरीकाले बजार लाग्ने गर्दछ ।
नेपालको पहिलो टाउन प्लानिङ राजविराज नगरपालिकामा दुईवटा सार्वजनिक शैचालयलाई नयाँ शैलीमा निर्माण गर्न लागिएको छ । 
राजविराज नगरपालिका भौतिक साधनले अत्यन्त पछाडी रहेकोमा अहिले नगरपालिकामा एउटा कार्यालय प्रमुख चढ्ने गाडी, एउटा जेसिबी, एउटा ट्वाइलेट सफा गर्ने गाडी, दुई वटा बारुणयन्त्र, दुई वटा ट्रयाक्टर लगायतका सवारी साधनहरु रहेको छ । 
बि.स. १९९० मा कोशीको बाढीले हनुमाननगरमा वडा हाकिमको कार्यालय र अन्य कार्यालयहरुलाई बगाउँदा बि.स. १९९९ मा विकल्पको रुपमा राजविराज बजारको स्थापना भएको हो । 
तत्कालिन राजविराज बजारको टाउन प्लानिङ बि.स. १९९९ सालमा तत्कालिन वडा हाकिम प्रकाश शम्शेरले गराउनु भएको थियो ।
बि.स. १९९९ सालमै ६० विगहामा यो बजार बसाइएको हो भने ८ विगहामा कर्मचारीको नाममा प्लट स्वर्ण टोल (लंका टोल) मा बितरण गरिएको हो । त्यस्तै १० विगहामा तत्कालिन कचहरी लाइन (हाल अदालत रोड) मा सरकारी कार्यालयहरु स्थापना गरिएको हो । 
बि.स. २०१५ सालको प्रजातन्त्रिक आम निर्वाचन पश्चात् २०१६ सालमा पहिलो पटक राजविराज बजारको नाम परिवर्तन गरि राजविराज नगरपालिका राखियो । यस नगरपालिकको पहिलो चेयर म्यान यमुनानन्द मिश्र हुनुहुन्थ्यो । 
७८ विगहामा फैलिएको यो सहरको बजार, बस पार्क, टेम्पु स्टेण्ड, माइक्रो स्टेण्ड, हाट बजार लगायत इतिहास बोकेको यस नगरपालिकालाई अहिले व्यवस्थित गर्न नगरपालिका लागिपरेको अधिकृत गुरुङ्गको भनाई छ ।
यस अघि बि.स. २०१५ सालमा राजविराज ४ स्थित पूर्वमेयर गोबिन्द सिंहको घरदेखी बैष्णवकाली मन्दिरसम्मको जग्गा बैलगाडा (कार्ट स्टेण्ड) स्टेण्डको रुपमा प्रयोग भइरहदा सरकारी उदासिनताका कारण निजि स्वार्थका लागि घरहरु निर्माण गरिएको वरिष्ठ पत्रकार अनिल कुमार अनलले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “करिब ८ बिगहा क्षेत्रफल रहेको उक्त जग्गालाई प्रयोग गरेर त्यहा बस स्टेण्ड निर्माण भएको भए सहरको सौन्दर्यता अझ बढ्ने थियो ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट