News Category 2070/03/17

कुख्यात अपराधी धिरेन्द्र यादव भारतको कटैयाबाट पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ असार ।
नेपालमा बिभिन्न किसिमको अपराध गरी फरार भएका कुख्यात भारतीय अपराधी धिरेन्द्र यादव पक्राउ परेका छन् । भारतीय प्रहरीले बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको कटैया पावर हाउस अगाडिबाट आइतबार बिहान नियन्त्रणमा लिएको छ ।
नानो कारमा सबार भएर राघोपुरतर्फ गइरहेको अवस्थामा उनीसहित अन्य चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आइतबार भारतको बिहार राज्य अन्तर्गत बिरपुर थानामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
धिरेन्द्रसँगै बैद्यनाथ यादव, अशोक मण्डल, बेचन यादव र उमेश यादव पनि प्रहरीको नियन्त्रणमा आएका छन् । यिनीहरुको ठेगाना खुलाइएको छैन् ।
पक्राउ परेका उनीहरुको साथबाट पाकेको माछा, दुई बोतल रक्सी, दुई वटा ग्लास र पाँच वटा मोवाइल बरामद भएको भारतीय प्रहरीको भनाई छ ।
करिब नौ महिना अगाडि सुनसरीको झुम्कास्थित पुर्व क्षेत्रिय कारागारबाट सुरुङ्ग खनेर यादवसहित एक दर्जन कैदी÷बन्दी फरार भएका थिए । २०६९ साल कात्तिक २३ गते कारागारको सुरुङ्ग खन्ने कामको यादव प्रमुख योजनाकार भएको प्रहरीले जनाएको थियो ।
धिरेन्द्रसहितका मिलेर सप्तरी सदरमुकाम राजविराजस्थित कृषि विकास बैंक बैङ्कि कार्यालयका प्रबन्धक बिक्रम शाहको २०६२ सालको पुस महिनामा दिनदहाडै गोली प्रहार गरी हत्या गरेका थिए । यसबाहेक नेपाली नागरिकता, हातहतियार, अपहरण र लुटपाटका मुद्दा उनीमाथि छ ।
यादवसहितकाले सप्तरी जिल्लामा अपराध बढाएपछि तत्कालिन सगरमाथा अंचल प्रहरी प्रमुख एसएसपी श्यामबहादुर खड्का नेतृत्वको टोलीले यादवको ‘ग्याङ्ग’ लाई सुनसरीको इटहरीबाट नियन्त्रणमा लिएको थियो । सप्तरी प्रहरीले यादवसहितकामाथि प्रबन्धक साहको हत्या मुद्दा दायर गरेपछि जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यो फैसलापछि धिरेन्द्रलाई प्रहरीले राजविराज, काठमाडौंसहित देशका बिभिन्न ठाउँको कारागार पु¥याउँदै झुम्का कारागारमा स्थानान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट