News Category 2071/05/16

युरिया मल नपाएको भन्दै किसानहरुद्वारा विरोध प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ भदौ । 
वर्षेनी सप्तरीमा मल खाद्यको अभावमा किसानहरु मर्कामा पर्ने गरेका छन् । समयमा मल खाद्य नपाउँदा आइतबार सप्तरीका किसानहरु अक्रोसित हुँदै सदरमुकाम राजविराजमा नारा जुलुस गर्दै बिरोध प्रदर्शन गरेका छन् । 
धानबालीमा आवश्यक पर्ने रासायनिक मल युरिया नपाएपछि गाउँ गाउँबाट आएका किसानहरुले जिल्ला कृषि विकास कार्यालय र कृषि सामग्री संस्थान अगाडि प्रदर्शन गर्दै राजविराजस्थित गजेन्द्र चौक हुँदै रुपनी मोडसम्म बिरोध प्रदर्शन गरेका थिए । सोही क्रममा रुपनी मोडमा अक्रोसित किसानहरुले चक्काजाम गर्न खोज्दा प्रहरीले लाठ्ठी चार्ज गरि उनीहरुलाई तितर बितर गरेका थिए । 
जिल्लाको मलेठ, रायपुर, बक्धुवा, बसबिट्टी, खोक्सर प्रवाहा, शम्भुनाथ, कल्याणपुर, १ नं योगिनियाँ, पकरी, डिमन, गोइठी, त्रिकौललगायत गाविसबाट आएका किसानहरुले समयमा वर्षा नभएपछि जसोतसो धान रोपाई गरेपछि अहिले आएर मल खाद्य समेत उपलब्ध गराउन नसकेको भन्दै बाध्यताले बिरोध गर्नुपरेको बताएका छन् । 
रायपुर ८ का रामदेव यादवले रासायनिक मलको अभावले गर्दा रोपिएको धान समेत बिग्रन लागेको भन्दै पाएको मलमा पनि व्यापक कालोबजारी हुने गरेको गुनासो गर्नुभयो । 
एक सातादेखी जिल्लामा युरिया मलको अभाव रहेको भन्दै सो मलका लागि सदरमुकाम धाँउदासमेत मल पाउन नसकेको उहाँले गुनासो पोख्नुभयो ।
यता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आ–आफ्ना डिलरलाई रासायनिक मल उपलब्ध गराइँदै आएकामा केही सातादेखि चरम अभाव भएको छ । 
यस्तै कृषि सामग्री कम्पनीका राजविराजस्थित शाखा प्रमुख कमल पोखरेलले तीन दिनअघि विराटनगरबाट एक हजार ४०० बोरा मात्र यूरिया आएकाले वितरण गर्न असहज भइरहेको बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख अशोक कुमारदास यादवले तत्काल ५ हजार बोरा युरिया मल जिल्लामा आयात भएपछि मात्र किसानहरुले केही राहत पाउने बताउँदै जिल्लामा १० हजार मेट्रिक टन मल भित्रिएपछि मात्र मलको अभाव सहज हुने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “बाटो अवरुद्ध भएका कारणले केही समययता सप्तरी लगायत अन्य जिल्लामा पनि मल खाद्य आउन नसक्दा अभाव भएको छ ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट