News Category 2071/05/28

समय नाघेको औषधी बरामद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
सप्तरीको कडेरबोनास्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट शुक्रवार ठूलो मात्रा समय नाघेको औषधीहरु स्थानियहरुले बरामद गरेका छन् ।
स्थानियहरुले चर्पीमा केही औषधी भेटाएपछि अन्यत्र पनि चेक गर्दा विभिन्न स्थानमा राखिएको ठूलो मात्रामा विभिन्न रोगीलाई प्रयोग हुने समय नाघेको औषधीहरु बरामद गरेका हुन् ।
सप्तरीका एघार वटा गाविसहरुलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवती महिलाले समेत आईरन र क्याल्सियम चक्कीसमेत नपाईरहेको अवस्थामा १० हजार भन्दा बढी समय नाघेका उक्त चक्की आफुहरुले केन्द्रबाटै फेला पारेको स्थानीय मोहम्द गुलजारले बताउनुभयो ।
यता प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सुधीरप्रभात कर्णले भने आफ्नो कार्यकालको उक्त औषधीहरु नभएको दाबी गर्नुभयो । आफु यस केन्द्रमा आएको एक वर्ष मात्रै भएको र यसअघिका स्टोरकिपर त्रिलोचन चौधरीले औषधीबारे आफुलाई जानकारी नदिने गरेकाले समय नाघेका औषधी पनि स्टोरमा रहेको भनि आफुलाई थाहा नभएको केन्द्र प्रमुख कर्णको भनाई छ । 
बिरामीले स्वास्थ्य केन्द्रबाट निःशुुल्क औषधी नपाएपछि उनीहरु बाहिरी पसलबाट औषधी खरीद गर्न बाध्य रहेको स्थानीय हजरत अलीलले जानकारी दिनुभयो । 
ज्वरो आएको समयमा प्राथमिक स्वास्थ्य केन्द्रबाट विगतमा सिटामोलसमेत पाउन नसकेको अवस्थामा अहिले यत्रो समय नाघेको औषधी फेला पर्नुले कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको मिलेमतोमा सेवाग्राहीको जीवनसित खेलवाड गरेको भन्दै आवश्यक छानविन गरी कारबाही हुनुपर्ने स्थानीयहरुको माग रहेको छ । स्वास्थ्यकर्मीहरुले औषधी अन्यत्र बिक्री गर्न स्टोरमा राख्ने गरेको र बिक्री नभएका औषधीहरु यसरी नै फाल्ने गरेको त्यसक्षेत्रका सेवाग्राहीहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट