News Category 2071/06/20

मुस्लिम समुदायको महान पर्व बकरईद आज मनाइदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असोज । 
मुस्लिम समुदायको ईद पछिको महान पर्व बकरईद अर्थात इदुजोहा सोमबार देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ । 
यस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ । आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का–मदिना जाने गर्दछन् । यस वर्ष नेपालबाट एक हजार भन्दा बढी मुसलमानहरू हजका निम्ति मक्का मदिना गएका छन् ।
मुसलमानहरूका पाँच धार्मिक मान्यताअनुसार हज गर्नु एउटा हो । रमजानजस्तो कठोर ब्रत नबस्नुपर्ने यो पर्व इदुल फित्रको ठीक ७० औँ दिन मनाइन्छ ।
कुरबानीका लागि नेपाली मुसलमानहरूले खसी, भैँसी एवम् बाँझो पाठीलाई इदुजोहाको नमाज पढेर घर आइसकेपछि बली चढाउँछन् जसलाई कुरबानी भनिन्छ । कुरबानी आफ्ना नामको अतिरिक्त परिवारका मृत सदस्यहरूको नाममा पनि चढाइन्छ ।
धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहका नवि इव्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराका गर्भबाट जन्मिएको छोरा इस्माईल अलि सलामलाई अल्लाहको आदेशमा कुरबानी दिन गएका थिए । तर अल्लाहले नवि इव्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न एवं खुशी भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माईलको ठाउँमा दुम्बा (भेडा) कुरबानी गरिएको थियो ।
यसै दिनदेखि मुसलमानहरूले अल्लाहको आदेशलाई पालना गर्दै कुरबानी दिँंदै आएका छन् । कुरबानीको लागि उपयुक्त हुने वस्तुको सिङ, कान, पुच्छर, आँखा एवं खुर दुरुस्त हुनुपर्छ ।
ठूलो जनावर भए सात जना मिलेर कुरबानी दिइन्छ भने खसी, बाख्री एक जनाको नाममा कुरबानी दिनु पर्छ । 
कुरबानीको मासु तीन भाग लगाइ एक भाग आफ्ना लागि, बाँकी दुई भाग इस्टमित्र र समाजका मानिसलाई बाँढ्नु पर्ने तथा कुरबानी भएका जनावरको छालाको रकम मदरशालाई दिनुपर्ने धार्मिक मान्यता छ । 
इदुजोहाका नमाज पनि मुसलमानहरूले पूर्णरूपमा चोखो भई इदगाह वा मस्जिदमा गएर पढ्ने गर्दछन् । २० लाख मुसलमान रहेको नेपालमा इदुजोहाका दिन करिब पाँच लाख कुरबानी हुने अनुमान गर्न सकिन्छ ।
तीन दिन मनाइने यो पर्व यस वर्ष महान चाड दसैँ सँगसँगै परेकाले कुरबानी हुने भैँसी, खसी र बाँझो पाठी महँगिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट