News Category 2071/07/11

मिथिलाञ्चलमा छठ पर्व सुरु आज खर्ना गरिदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० कात्तिक । 
मिथिलाञ्चलवासीको महान् पर्व छठ सोमबारदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । 
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व मिथिलाञ्चलभरि सोमबारदेखि विधिवत रुपमा सुरु भएको हो । 
छठ पर्व सप्तरीको सदरमुकाम राजविराज लगायत जिल्लाका अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाउने चलन छ ।
यसै अनुरुप छठ पर्वको पुर्व सन्ध्यामा यहाँका विभिन्न पोखरी, नदी, तलाउ लगायतका स्थानमा सरसफाई गरी घाट बनाउँन शुरु भएको छ । 
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । 
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् । 
पर्वको पहिलो दिन सोमबार व्रतीहरूले नहा खा अर्थात् नुहाएर अरबा अरबाईन खाएर छठ पर्वको शुरुवात गरेको छ ।
त्यस्तै पर्वको दोस्रो दिन मङ्गलबार खर्ना मनाइदै छ । खर्नाका दिन व्रताहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् र राति (बिना नुन हालेको) खानेकुरा खाने चलन छ । 
त्यस्तै षष्ठीका दिन अर्थात् बुधबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । 
सो दिन व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । 
त्यस्तै त्यसको भोलिपल्ट बिहीबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् । 
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 
सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ । 
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठ पर्व हिन्दुको सँगसँगै मुस्लिम तथा हाल आएर नेपाली समुदायले पनि मनाउने गर्छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट