News Category 2071/07/21

तीन महिनाको अवधिमा सप्तरीमा ६ जनाको हत्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० कात्तिक । 
तीन महिनाको अवधिमा सप्तरीमा भएको पाँचवटा घटना मध्ये तीन महिला, दुई बालक र एक पुरुषसहित ६ जनाको हत्या भएको भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सप्तरीद्धारा बिहिबार राजविराजमा आयोजित नेपाल मानवअधिकार बर्ष पुस्तक २०१५ को तेस्रो त्रैमासिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले सो जानकारी दिनुभएको हो । 
सार्वजनिक प्रतिवेदनमा हत्या भएकोमा सप्तरीको मल्हनिया गाविस २ का ११ वर्षीय मनिष कुमार यादव र ३५ वर्षीय रीतादेवी यादवको ठूलोबुवा तथा जेठाजु ४४ वर्षीय रामेश्वर यादवद्वारा, सुनसरी हरीपुर गाविस–८ का ४० वर्षीय मस्तकिम मियाँको पत्नी सबरुन खातुनद्वारा, कोचावखारी गाविस–९ कुपहीका ८ वर्षीय गोबिन्द खंगको बुवा श्रवण खंग खत्वेद्वारा, मलेकपुर गाविस–५ खुरहुरियाकी १९ वर्षीया पुनीता कुमारी मण्डलको पति २५ वर्षीय अर्जुनद्वारा, सिम्राहा सिंग्यौन गाविस–६ की ४८ वर्षीया एकल महिला उर्मिलादेवी मण्डलको परिवारजनबाटै हत्या भएको उल्लेख गरिएको छ । 
त्यसैगरी अर्को घटनामा घटनास्थलबाटै आरोपितलाई साउन २२ गते राति नियन्त्रणमा लिई प्रहरी चौकी धर्मपुरमा बुझाइएकोमा अभिभावक र गाउँलेले सहमति गरेपछि मुद्दा फिर्ता लिइएको जनाएको छ । 
इनर्वा फुलबडिया गाविस–८ की १२ वर्षीया बालिकालाई जण्डौल गाविस–५ का ४९ वर्षीय सीताराम सरदारले छोरा २० वर्षीय मंगला सरदारसँग जबरजस्ती बालविवाह गराउने उद्देश्यले साउन १२ गते साँझ अपहरण गरी गैरकानुनी रुपमा बन्दी बनाई घरमा राखेकोमा पुनरावेदन अदालतको आदेशअनुसार साउन २३ गते आरोपितको घर खानतलाशी गरी बालिकालाई सकुशल उद्धार गरी सोही दिन आमाको जिम्मा लगाइएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 
यस्तै दिघवा गाविस–४ का २८ वर्षीय संजय यादवलाई असार २३ गते अपहरण गरेको आरोपमा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका तत्कालिन जिल्ला संयोजक पकरी गाविस–३ का २४ वर्षीय अनील यादव भनिने देवराम यादवलाई प्रहरीले साउन २३ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि आरोपित भदौ १९ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । 
त्यसैगरी सोही अवधिमा भारदह–५ स्थित कोशी ब्यारेज नहर छेउको झाडीमा एक दिनको बालिका शिशु वेवारिसे अवस्थामा भदौ ८ गते फेला परेको तथा शिशुलाई दुई छोरा मात्र भएका कञ्चनरुप नपा–८ का बुद्घिबहादुर कार्की र निजकी पत्नी हिरा कार्कीले धर्मपुत्रीको रुपमा पालनपोषणको जिम्मेवारी लिए । बालिका शिशु फ्याक्नेको पत्ता लाग्न नसकेको जनाइएको छ ।
यस्तै राजविराज नपा–८ स्थित जानकी उच्च मा.वि. मा कक्षा ९ मा अध्ययनरत बननियाँ गाविस–६ कमलपुरका १३ वर्षीय मनोज यादवलाई सो बिद्यालयका शिक्षक मलेकपुर–२ का २७ वर्षीय रघुनाथ दासले साउन २९ गते बाँसको बत्तीले कुटपिट गर्दा टाउकोमा चार टाँका लागेको थियो । जिल्ला प्रहरी कार्यालयमा पीडितको घाउ खर्च वापत लागेको रकम आरोपित शिक्षकबाट भराउने लिखित कागज गराई भदौ २ गते सहमति भएको उल्लेख गरिएको छ । 
यो अवधिमा चारवटा घटनामा एक बालिका र तीन महिलामाथि बलात्कार प्रयास भएको छ । बालिकामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेकी एक महिला जिल्ला प्रहरी कार्यालयबाट व्यक्तिको जमानतमा छुटेकी थिएन् । सुरुमा कारवाहीका लागि उजुरी गरेको पीडित पक्षले पछि कारवाही प्रकृया अगाडि बढाउन चाहेन । यस्तै फरार २ नम्बर जोगिनिया–१ का ४२ वर्षीय रामकिसुन मण्डल, फरार इटहरी विष्णुपुर–३ का ४० वर्षीय अशिषलाल यादव र वडा नं. ४ का ३५ वर्षीय उमेशकुमार यादवविरुद्ध जिल्ला अदालतबाट वारेण्ट जारी भएको छ । नकटी रायपुर गाविस–८ का २१ वर्षीय दिपक कुमार साह पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 
कथित बोक्सीको आरोपमा चारओटा घटनामा चार जना महिला प्रताडित भएकी छन् । एक घटनामा घटना नदोहो¥याउने भन्दै आपसमा सहमति भएको छ  भने अर्को एक घटनामा जिल्ला प्रहरी कार्यालय परिसरमा आरोपितहरुबाट रु. ५ हजार एकसय क्षतिपूर्ति दिलाई लिखित कागज गराई सहमति भएको छ । 
त्यसैगरी तीलाठी गाविस–९ र बेल्ही चपेना गाविस–७ छतापुरको घटनामा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र महिला तथा बालबालिका कार्यालयमा उजुरी परेपनि कारवाही प्रकृया अगाडि बढेको छैन् । 
राज्यबाट धम्की, कुटपिट र दुव्र्यवहारका तीन घटना भएका छन् । जिल्लाकै रम्पुरा मल्हनिया–९ की २८ वर्षीया रुक्मीणीदेवी मण्डललाई रम्पुरा मल्हनिया प्रहरी चौकीका असई ३५ वर्षीय स्वर्ण कुमार योन्ताङ्वेनले साउन ३ गते प्रहरी चौकीमा लाठी र मुडकीले कुटपिट गर्दै खाटमुनी एक घण्टा बस्न लगाएर यातना दिएको उल्लेख गरिएको छ । 
यस्तै १ नं. जोगिनिया–६ घर भई त्रिकोल–६ बस्ने १५ वर्षीया प्रेमिका कुमारी यादव र निजकी आमा ३९ वर्षीया फुलोदेवी यादवलाई त्रिकोल–६ घर भई सशस्त्र प्रहरी बल मैनाकडेरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार २९ वर्षीय दुर्गानन्द हजरा यादवले साउन ४ गते खुकुरी प्रहार गरी कुटपिट गरेको आरोप लगाउँदै जिल्ला अदालतमा उजुरी परेको प्रतिवेदन उल्लेख गरिएको छ । 
अर्को घटनामा राजविराजबाट प्रकाशित ग्रीन मधेस दैनिकका समाचारदाता गंगाप्रसाद साह र राजविराज टुडे एवं सिएफ एमका भारदह समाचारदाता आनन्दमोहन शर्मालाई सशस्त्र प्रहरी भारदह वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान दिलकुमार लिम्बुले हप्काउँदै क्यामेरा खोसेर भदौ २८ गते दुव्र्यवहार गरेका थिए । नेपाल पत्रकार महासंघको पहलमा सोही दिन भदौ २८ गते राति क्यामेरा फिर्ता भएको थियो । यसका साथै यो अवधिमा घरेलु हिंसाका २०, घरनिकालाका १४, बहुविवाहका एक गरी ६२ ओटा घटना भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 
पुनरावेदन बार एकाईका अध्यक्ष महेन्द्र कुमार चौधरीको अध्यक्षता तथा पुनरावेदन अदालतका न्यायधिश राम प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित सो समिक्षा कार्यक्रममा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, जिल्ला अदालतका श्रेष्ठेदार वनराज दुलाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार ढकाल, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डल अनुराग,मिना ठाकुर, नागरिक समाजका अध्यक्ष थानसिंग भन्साली, अवकाश प्राप्त शिक्षिका मंजु श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुमार पाठक लगायतका बक्ताहरुले जिल्लामा दिन प्रतिदिन मानवअधिकार हननका घटनामा बृद्धि भएकोमा चिन्ता ब्यक्त गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट