महिलाको रहस्यमय मृत्यु प्रहरीद्वारा अनुसन्धान सुरु

Wednesday, December 03, 2014
शुभ नारायण यादव
राजविराज, १६ मंसिर ।
मुलुकभरी महिला हिंसा सम्बन्धि १६ दिने अभियान मनाईरहेको बेला सप्तरीमा एक जना महिलाको रहस्यमय तरिकाबाट मृत्यु भएको छ । 
सात महिना अघि प्रेम विवाह गरेकी सप्तरीको दिघवा गाविस १ बिरौल निवासी सुरज साहकी १८ वर्षिया श्रीमति पुनम चौधरीको दाइजोका कारण उनका आप्mनै श्रीमान र सासु मिलेर रहस्यमय तरिकाबाट हत्या गरिएको आरोप पीडित परिवाजनले लगाएका छन् ।  
गत बैशाखमा पुनम र सुरजबिच अन्तरजातीय प्रेम विवाह गरेको तथा विवाह गरेको सात महिना नबित्दै पुनमको दाइजोका कारण बिष खुवाएर रहस्यमय तरिकाबाट हत्या गरिएको पीडितका परिवारजनको आरोप छ । 
यसैबीच सप्तरीका प्रहरी प्रहरी उपरिक्षक दानसिंह बोहराले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ । 
दाइजो नल्याएको भन्दै यसअघि पनि पुनमलाई पटक पटक उनका श्रीमान र सासु बेचनी देवी साहले कुटपिट गर्दै आएको पीडितको भनाई रहेको छ । पछिल्लो पटक गत आईतबार दिउँसो सासु र बुहारी बिच भएको झै झगडामा पुनमलाई बाँसको भाटाले निर्घात कुटपिट गरेको शरीरभरी निलडाम परेको तथा बिष खुवाएर हत्या गरेको आरोप लगाइएको छ । 
बिष खुवाईएपछि सख्त घाईते पुनमको तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले रेफर गरिएको थियो । 
सोही क्रममा पुनमलाई थप उपचारको लागि विराटनगरतर्फ लगिदै गरेको अवस्थामा सप्तरीको हनुमाननगरमा मृत्यु भएको पीडितका परिवारजनले बताएका छन । पुनमको मृत्युपछि उनको शव पोष्टमार्टमसका लागि राजविराज नल्याई सुनसरीको ईनरुवा लगिएको थियो । 
यसैबिच उक्त घटनाको बास्तविक छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कार्बाही हुनुपर्ने माँग विभिन्न संघ संस्थाले गरेका छन । 
महिला पत्रकार एवं कुरिति जन्य हिंसा अन्त्यकी अध्यक्ष अम्बिका दाहाल, मानवअधिकार हुपेकका अध्यक्ष धर्मेन्द्र कुमार यादव, उमा पोखरेल लगायतकाहरुले पटक पटक महिलामाथि भईरहेको घटनाको घेर भत्सर्ना गर्दै पुनमको रहस्यमय तरिकाबाट हत्या गरेको भन्दै सो घटनाको बास्तविक छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कार्बाही हुनुपर्ने जोडदार माँग गरेका छन ।