News Category 2071/08/19

आवश्यकता परेमा भुमिगत समेत हुन्छौं ः सिपी गजुरेल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ मंसिर । 
नेकपा–माओवादीका केन्द्रिय उपाध्यक्ष सिपि गजुरेलले संविधान सभाको औचित्य समाप्त भईसकेको बताउँदै माघ ८ मा कुनै पनि हालतमा संविधान जारी नहुने ठोकुवा गर्नुभएको छ ।  
नेकपा–माओवादी जिल्ला समिति सप्तरीले राजविराजमा आयोजना गरेको प्रशिक्षण कार्यक्रम पश्चात् बिहिबार गरेको पत्रकार सम्मेलनमा उहाँले सो ठोकुवा गर्नुभएको हो । 
उहाँले माघ ८ मा दुई तिहाई बहुमतबाट संविधान आयो भने मुलुकमा ठुलो आँधी बेहरी आउने चेतावनी समेत दिनुभयो । गजुरेलले वर्तमान सरकारलाई नौटङ्गकीको संज्ञा समेत दिनुभयो । 
सर्वपक्षिय राजनितिक सभाबाट मात्र मुलुकमा निकास मिल्न सक्ने बताउँदै उहाँले यदि वर्तमान सरकारले जर्वजस्ती संविधान जारी ग¥यो भने मुलुक फेरी अर्को द्वन्द्वतर्फ उन्मूख हुने बताउनुभयो । 
उहाँले संविधान नबनेमा आफुहरु शान्तिपुर्ण जनआन्दोलनमा जाने उद्घोष गर्दै पार्टी आवश्यकता परेमा भुमिगत समेत हुन सक्ने विचार व्यक्त गर्नभुयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले माघ ८ मा कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने बताउँदै काँग्रेस, एमाले र एमाओवादीले नेपाली जनतालाई भ्रममा मात्र पार्ने कार्य गरिरहेको आरोप लगाउनुभयो । उहाँँ माघ ८ मा संविधानको मस्यौदा मात्र आउन सक्ने विश्वास ब्यक्त गर्नुभयो । 
उहाँले वर्तमान सरकारले अग्रगामी संविधान मात्र ल्याउन सक्ने बताउँदै नेपाली जनताले चाहेको संविधान माघ ८ मा बन्न नसक्ने भएकाले संविधान सभा विघटन हुनुपर्नेमा जोड दिदै सर्वपक्षिय राजनीतिक सभाबाट मात्र जनताको पक्षमा संविधान बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । 
उपाध्यक्ष गजुरेलले संयुक्त राष्ट्र सरकार बन्नुपर्नेमा जोड दिदै माघ ८ मा नेपाली जनताको पक्षमा संविधान नआए मुलुकमा ठुलो द्धन्द हुने तथा त्यसको नेतृत्व आफनो पार्टीले गर्ने उद्घोष समेत गर्नुभयो । 
एक अर्को प्रसङ्गमा उहाँले माओवादी पार्टी अहिले पनि विभाजन नभई एकतावद्ध भईरहेको बताउँदै विप्पललाई पनि पार्टी विभाजन नहुन आग्रह समेत गरेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट