सप्तरीको समग्र विकास गर्ने सरोकारबालाहरुको सामुहिक प्रतिवद्धता “डन” प्रविधिलाई अन्त्य गर्न आवश्यक ः सभासद् यादव

Saturday, December 06, 2014
दैनिक संवाददाता
राजविराज, १९ मंसिर ।
सप्तरीको समग्र सामाजिक, आर्थिक, राजनैतिक, संस्कृतिक, धार्मिक तथा भाषिक विविधतालाई स्विकार्दै जिल्लाको समग्र विकासमा जिल्लाका सम्पुर्ण सरोकारबाला निकायहरुले प्रतिवद्धता जनाएका छन् । 
जिल्ला विकास समिति सप्तरीको आवधिक जिल्ला विकास आव २०७२÷७३ देखि २०७६÷७७ सम्म पाँच वर्षे योजना तर्जुमा सम्बन्धि पाँच दिने कार्यशाला गोष्ठिको शुक्रबार समापन्न समारोहमा सहभागि सरोकारबाला निकायहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । 
सप्तरी जिल्लाको ऐतिहासिक प्रतिष्ठा र लोकतन्त्र प्रतिको निष्ठा, आस्था र प्रतिवद्धताको सम्मान गर्दै हाल तथ्य र तथ्याङ्गकबाट देखिएको आर्थिक, सामाजिक र सुशासनका सुचकहरुले देखाइएको विग्रदा अवस्थालाई मनन् गर्दै, यहाँको सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक, धार्मिक तथा भाषिक विविधतालाई स्वीकार गरेका छन् । जिल्लाको समग्र उन्नतीका लागि विकासका लागि राजीतिक श्रृजना, नवप्रवर्धन र सहमति भन्ने विषयमा सहमति हुदै आएको बताउँदै संवृद्ध सप्तरीको मुल आधार कृषि, सामाजिक विकास, सुशासन र भौतिक पुर्वाधार भन्ने पाँच वर्षे आवधिक दुरदृष्टिलाई मार्ग दर्शन मान्दै हाम्रो सहभागिता, संलग्नता र स्वामित्वमा तर्जुमा गरिएको सप्तरीको दोश्रो आवधिक जिल्ला विकास योजना आव २०७२÷७३ देखि २०७६÷७७ सम्मको पुर्ण सफलताका लागि सम्पुर्ण जिम्मेवार निकायहरुले सामुहिक रुपमा प्रतिवद्धता जनाएका छन । 
जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा आयोजित सो कार्यशाला गोष्ठि समापन्न समारोहमा सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले जिल्ला विकास समितिमा “डन” प्रविधिलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सो कार्यालयमा बढ्दै गएको पिसि प्रवृतिलाई अन्त्य गर्ने घोषणा गर्नुभएको स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रतिवद्धतालाई स्वागत गर्दै डनहरुसँग मुठभेड गर्न तयार समेत रहेको उल्लेख गर्नुभयो । 
उहाँले कर्मचारीले माननीयसँग जुहारी खेल्न नहुने जिकिर गर्दै राजविराज चक्रपथका लागि बजेट समेत आईसकेको जानकारी दिनुभयो । सभासद यादवले जिल्ला अब विकास निमार्णमा पछाडी नहटने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो । 
त्यस्तै सभासद रंजित कर्णले तोकिएकै समयमा संविधान आउने कुरामा कसैलाई शंका ब्यक्त नगर्न आग्रह समेत गर्नुभयो । यस्तै अर्का सभासद सकलदेव सुतिहारले सहमतिमै सरकार बन्नेमा ढुक्क रहन सम्पुर्ण जनतालाई आग्रह गर्नुभयो । 
सोही समापन्न समारोहमा सभासदहरु मानपुर चौधरी, अशोक मण्डल अमर, रमणी राम, लक्ष्मी चौधरी, मिथिला चौधरी, रंजु ठाकुर, प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, जिविस महासंघका महासचिव एवं प्रशिक्षक खेम राज लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, नेपाली काग्रेसका महेन्द्र प्रसाद यादव, एमालेका निरंजन झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, एमाओवादीका असर्फी सदा, नेपाली काँग्रेसका महेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, मधेशी जनअधिकार फोरम नेपालका केदार प्रसाद यादव, संघीय समाजवादी पार्टीका केन्द्रिय सदस्य चित नारायण यादव लगायतका बक्ताहरुले योजना बनाएर मात्र नभई त्यसलाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 
उक्त पाँच दिने कार्यशाला गोष्ठिमा विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, गैससका प्रतिनिधि, नागरिक समाज, संचारकर्मी लगायतका गरी सयौ भन्दा बढीको सहभागिता रहेको थियो ।