दुईवटा स्वास्थ्य चौकीको भवन निर्माण कार्य समयमा सम्पन्न भएन स्थानियहरु सेवा सुविधा पाउनबाट बञ्चित

Tuesday, December 09, 2014
नवीनकुमार गुप्ता
राजविराज, २२ मंसिर । 
सप्तरीको दुईवटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा राज्य पक्षबाट स्थानियहरुले पाउने सेवा सुविधाबाट बञ्चित भएका छन् । 
सप्तरीको पश्चिम पिप्रा र फत्तेपुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका कार्य पाएका ठेकेदार कम्पनीले समयमा पूरा गर्न नसक्दा सरकारले दिने गरेको सेवा सुविधाबाट स्थानियहरु बञ्चित भएका हुन् । 
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीबाट रामजानकी निर्माण सेवा जनकपुरले दुबै स्वास्थ्य चौकीको भवन निर्माण गर्ने काम एक करोड ६८ लाख रुपैयाँमा पाएको थियो । 
पश्चिम पिप्रा स्वास्थ्य चौकीका लागि ९९ लाख ३१ हजार र फत्तेपुर स्वास्थ्य चौकीका लागि ७९ लाख ९३ हजार रकममा रामजानकी निर्माण सेवा केन्द्रले २०६६ साल चैत १२ गते टेण्डर प्रक्रियाले सो निर्माण कार्य पाएको हो । २०६८ साल बैशाख मसान्तसम्ममा भवन निर्माण कार्य सम्पन्न गर्ने सहरी विकास कार्यालयसँग सम्झौता भए पनि हालसम्म पनि सो कार्य सम्पन्न हुन सकेको छैन् । 
यता, समयमा भवन निर्माण कार्य सम्पन्न गर्न नसक्दा ठेक्का पाएको कम्पनीले स्टिमेट रकमको १० प्रतिशत जरिवाना समेत तिर्नु परेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका लेखा अधिकृत गणेश बहादुर घिमिरेले जानकारी दिनुभयो ।  
निर्माण काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक म्याद थपिएपनि पश्चिम पिप्राको भवन अन्तिम अवस्थामा रहेको र फत्तेपुरको आधा कामसमेत सम्पन्न हुन नसकेको लेखा अधिकृत घिमिरेले जानकारी दिनुभयो । यता स्वास्थ्य चौकीहरुको भवन निर्माण काम समयमा सम्पन्न नहुँदा कामकाज गर्न समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
दुबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण काम थालिएपनि निर्माण पूरा नहुँदा स्थानीय गर्भवती महिलाहरुलाई उक्त सेवा पाउनबाट बञ्चित हुनुपरेको प्रिपा पश्चिम स्वास्थ्य चौकीका प्रमुख अमन कुमार शर्माले बताउनुभयो ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजय कुमार झाले भवन निर्माण कार्यमा ढिलाई भएको कारण स्थानियहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनुका साथै बर्थिङका लागि नजिकै पर्ने अन्य स्वास्थ्य चौकीमा जानुपरेको जानकारी दिनुभयो । सरकारले उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा परिणत गरेपनि हाल भवन अभावका कारण स्वास्थ्य चौकीमा उपचार गर्न अत्यन्त कठिनाई भइरहेको गुनासो गर्नुभयो ।