News Category 2071/09/21

चालु आवको ६ महिना नबित्दै करिब १२ हजार राहदानीका लागि आवेदन

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, २० पुस ।
बढ्दो बेरोजगारीका कारण सप्तरीमा युवाहरु बिदेशिने क्रम अझै रोकिएको छैन । 
जिल्लाबाट प्रत्येक बर्ष रोजगारीका लागि युवाहरु विदेशिने क्रम दिन प्रतिदिन बढदै गएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीमा चालु आर्थिक वर्ष २०७१ साल साउन १ गतेदेखी हाल सम्ममा ११ हजार ५ सय ३४ जनाले राहदानी (एमआरपी) का लागि आवेदन दिएको राहदानी फाँटका नायब सुब्बा तोम प्रसाद दाहालले जानकारी दिनुभयो । 
जस मध्ये द्रुत सेवाबाट राहदानी लिनेको संख्या ४ हजार ९ सय ६८ र साधारण सेवाबाट राहदानी लिनेको संख्या ६ हजार ५ सय ६६ जना रहेको छ । 
द्रुत सेवाबाट राहदानी बनाउनका लागि सम्बन्धित प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेको दिनदेखि सातदिनभित्रै सिधै परराष्ट्र मन्त्रालयबाट कार्ड पाउन सकिन्छ । त्यसका लागि दोब्बर दस्तुर रु. १० हजार तिर्नुपर्ने नियम रहेको नासु दाहालले जानकारी दिनुभयो । 
यस्तै साधारण सेवाबाट एमआरपी लिन बढी समय लाग्ने गरेको छ । यसको दस्तुर रु. ५ हजार मात्रै तिर्नुपर्छ । यो सेवाबाट एमआरपी लिन सम्बन्धित प्रशासन कार्यालयमा आवेदन दर्ता गराई कमसेकम डेढ महिनापछि मात्रै कार्ड उपलब्ध हुन्छ । तर, त्योस नभई कमसेकम अढाई महिना लाग्ने भएपछि सेवाग्राहीहरुलाई सास्ती ब्यहोर्नु परेको छ ।
यता राहदानीका लागि आवेदन दिनेको संख्या दैनिक ६० देखी १ सय ५० को हाराहारीमा रहेको बताउँदै नासु दाहालले १८ देखी ४० वर्षसम्मका युवाहरुले राहदानी बनाउन आवेदन दिने गरेपनि बढी १८ सम्मका यूवाहरु रहेको बताउनुभयो । 
यत्रो मात्रामा राहदानीका लागि आवेदन आएकोले सप्तरीबाट पछिल्लो समयमा विदेशिनेहरुको संख्यामा वृद्धि भएको प्रमाणित हुन्छ । गत वर्ष जिल्लाबाट करिब २० हजार भन्दा बढी युवाहरु विदेशिएका थिए ।
यसैबिच राहदानीबाट दिनहुँ दुईदेखि पाँच लाख सम्म राजस्व असुली हुने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीको लेखा शाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट