News Category 2071/09/29

सभासद् मण्डलद्वारा तराई मधेसलाई पहाड र हिमालबाट अलग नराखी प्रदेश बनाउन पार्टीलाई सुझाव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ पुस । 
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा सप्तरीका सभासद सत्यनारायण मण्डलले तराई मधेसलाई पहाड र हिमालबाट अलग राखेर प्रदेश बनाइए भावी सन्ततिले आफूहरुलाई धिक्कार्ने सुझाव दिनुभएको छ । 
एमाले संसदीय दलको सोमबारको बैठकमा दलका नेता केपी ओली तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले संघीयताका सन्दर्भमा मधेसी, जनजाति, थारु, महिला सभासदहरुको सुझाव लिने क्रममा सभासद् मण्डलले पार्टीलाई यस्तो सुझाव दिनुभएको हो । 
सभासद् मण्डलले भन्नुभयो, “हाम्रा भावी सन्तानले हामीलाई नालायक भन्ने छन्, हामी मधेसीहरुलाई पहाड र हिमालका जनताको पनि नेतृत्व गर्नबाट बञ्चित गरेको आरोप लाग्नेछ’ उहाँले भन्नुभयो, “प्रदेश बनाउन उत्तर दक्षिण मिलाएर बनाउनुपर्छ, यसमा पार्टीको अडान सही छ’ ।
यता एमाले मेधशी नेताका अनुसार सभासद् मण्डल अध्यक्ष केपी ओलीकै शब्दलाई दोहो¥याई रहनुभएको छ । उहाँ जहिलेदेखी पार्टीको स्थायी कमिटिमा मनोनयन गरिएपश्चात् उहाँ अध्यक्ष ओलीकै बोलीमा बोल्ने गर्नुहुन्छ । 
यसैगरि अर्की सभासद मञ्जु चौधरीले पहाडबाट तराईलाई अलग गरेर प्रदेश बनाउने मधेसवादी र एमाओवादीको सोचभित्र बिखण्डनको गन्ध आएको भन्दै एमालेले घुँडा टेक्न नहुने सुझाव दिइन् । यस्तै जनजाति सभासदहरु शेरधन राई, प्रेम आले मगर, गणेश काङवाङ लिम्बु, रामवीर मानन्धरलगायतले एकल जातीय पहिचानका आधारमा संघीय प्रदेश कुनै हालतमा स्वीकार नगर्न नेतृत्वलाई सुझाव दिनुभयो ।
सभासद नागेन्द्र चौधरीले थारुले मधेसवादी दलका नेताहरु तराईका जमीन्दार र ठूला सामन्तहरुको प्रतिनिधि भएको भन्दै तराई मधेसका जनताको माग पहाडबाट अलग हुने नरहेको सुझाव दिनुभयो ।
नेकपा एमालेका मधेसी सभासदहरुले हिमाल, पहाड र तराईलाई नछुट्याई संघीय प्रदेश निर्माण गर्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिनुभयो ।
तराई मधेशलाई पहाड र हिमालबाट अलग गर्ने सोच घातक भन्दै एमालेका मधेशी नेताहरुले मधेशवादी दलको त्यस्तो मागमा सहमति नजनाउन समेत नेतृत्वलाई खबरदारी गरेका छन् ।
एमालेका जनजाति र मधेसी सभासदहरुले यसपटक पार्टी नेतृत्वले लिएको अडान सही रहेको भन्दै खुट्टा नकमाउन नेतृत्वलाई सुझाव दिएका छन् । 
बैठकमा बोल्ने आदिवासी जनजाति, महिला, दलित, मधेसी लगायत समूहका सभासदले पार्टीले लिएको अडान ठीक रहेको भन्दै नेताहरुको प्रशंसा समेत गरेका थिए ।
एमालेले माघ ८ गतेसम्म जिल्ला र निर्वाचन क्षेत्रमा नजान, कुनै पनि कार्यक्रम नराख्न र जिल्लामा भएकालाई पनि तुरुन्त फकिर्न निर्देशन दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट