News Category 2070/03/30

२५ गतेभित्रै लिनुपर्ने निकासा लिनेदिने क्रम जारी

दैनिक समाचारदाता

राजविराज÷सबैभन्दा बढी गाविस रहेको सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको अनुदान निकासा लिन पाएका छैनन् । परिषद् गरेपनि काम गर्न नसक्दा रकम निकासा लिन नसकेको जिल्ला विकासले जनाएको छ । जिल्ला विकासका अनुसार दुई वटा गाविस कालोसूचीमा परेका कारण यस पटक अनुदान पाउने छैनन् ।
चालू आर्थिक बर्ष २०६९÷७० सकिन दुई दिन बाँकी रहेको अवस्थामा ४० वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम निकासा लिएको जिविसले जनाएको छ । लिएकामध्ये पनि अधिकांसले असार २५ गतेपछि यो रकम निकासा लिएका हुन् । असार २५ गतेअघिसम्म ७ वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम लिएको थियो । यसले गाविस अनुदानमध्ये अधिकांस रकम मिलोमतोमा पचाउने खेल देखा परिसकेको छ । चार दिनभित्र लाखौंको काम गर्न सक्ने भन्दै कागजी प्रकृया देखाएर जिविसका कर्मचारीहरुले रकम निकासा दिने गरेको र यसबाट कर्मचारीहरुले ४० प्रतिशतसम्म कमिसन लिने गरेको जिविस श्रोतको भनाई छ ।
यस पटक मुलुककै सबैभन्दा बढी ११४ गाविस भएको यो जिल्लाका ७२ जति गाविसले अझै तेस्रो किस्ता वापतको रकम लिन पाएको छैन् । असार २५ सम्म काम गरेर निकासा लिइसक्नुपर्नेमा २४ गते सोमबारसम्म ७ वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम लिएको र यसपछि अन्य गाविसले निकासा पाएको जिविसले नै जनाएको छ । २५ गतेअघिसम्म सीतापुर, सकरपुरा, भारदह, देउरी भरुवा, जगतपुर, मोहनपुर र रामपुर जमुवाले मात्र तेस्रो किस्ता वापतको रकम निकासा लिएका थिए । मधवापुर र मौवाहा गाविस कालोसूचीमा परिसकेका कारण सम्पूर्ण बजेट नै फ्रिज भएको जिविसले जनाएको छ ।
अनुदान वापतको पहिलो किस्ता ११२ गाविसले निकासा लिएपनि दोस्रो किस्ता १० गाविसले नलिएको जिविसले जनाएको छ ।
तेस्रो किस्ता वापतको रकम १०५ गाविसले हालसम्म निकासा नलिएका कारण काम हुने सम्भवाना एकमदै न्यून रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट