News Category 2071/10/20

एक लाख रकम लुट्ने दुई पक्राउ, बरामद गरिएको रकम मध्ये एक हजार मदिरामा खर्च

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ माघ । 
बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गरेको अवस्थामा सो रकम लुट्ने दुई लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरि पक्राउ परेका दुबै लुटेराहरुलाई सोमबार सार्वजनिक गरेको छ । 
पक्राउ पर्नेहरुमा सप्तरीको छिन्नमस्ता गाविस ५ महुवा टोल निवासी २५ वर्षिय पंकज यादव र सोही ठाउँ वडा न. ६ बस्ने २३ वर्षिय सानु राय रहेका छन् । 
राष्ट्रिय वाणिज्य बैंक कठौना बजारबाट आइतबार दिउँसो रकम झिकी मधुपटी गाविस १ निवासी राजकुमारी चौधरी साइकल चढेर घरतर्फ जाँदै गरेको अवस्थामा उनको रकम लुटिएको हो ।
स.५प ५१६ नम्बरको मोटरसाईकलमा आएका दुई जना लुटेराहरुले पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित काष्ठ उद्योग नजिकै चौधरीले चढेकी साइकल अगाडी मोटरसाइकल रोकी उनको साथमा रहेको व्याग र त्यसमा रहेको १ लाख नगद तथा दुइ थान मोबाइल उनीहरुले लुटेर लगेको प्रहरीले जानकारी दिएको छ । 
रकम लुटेको करिब एक घण्टापछि प्रहरीलाई खबर भएपछि प्रहरीले मोटरसाइकल नम्बर पत्ता लगाई यातायात कार्यालयबाट सो नम्बरको मोटरसाइकल धनीको नाम लिएपछि खोजबिन तिब्र पारेको प्रहरी नायब उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो । 
यता आइतबार साँझै इलाका प्रहरी कार्यालय कल्याणपुर र सखडाको संयुक्त टोली लुटेरा मध्ये पंकज यादवको घर पुगि उनको साथबाट ५० हजार नगद, एक थान मोवाईल र मोटरसाइकल बरामद गरेको प्रहरीले जानकारी दिएको छ । त्यसपश्चात् यादवकै बयानका आधारमा अर्का लुटेरा सोनु रायको साथबाट ४९ हजार नगद र एक थान मोबाइल सोमबार बिहान बरामद गरि जिल्ला प्रहरी कार्यालय ल्याएको जनाएको छ ।
बरामद गरिएको रकम मध्ये १ हजार उनीहरुले मदिरा सेवन गरि खर्च गरेको प्रहरीले उनीहरुलाई उदृत गर्दै जनाएको छ । यता पक्राउ परेका लुटेराहरुलाई हाल आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।  
यसैगरि रकम लुट्ने दुबै जनालाई जबरजस्ति लुटपाट ऐन अन्तरगत मुद्दा चलाइने तथा पीडित राजकुमारीले रकम र मोबाइल आदलतमा सबुतको रुपमा पेश गरेपछि मात्र पाउने प्रहरी उपरिक्षक ढकालले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट