विभिन्न संघसंस्थाद्वारा संकलित राहत सामाग्रि तथा नगद प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पठाइयो

Monday, May 04, 2015
दैनिक संवाददाता
राजविराज, २० बैशाख ।
गत शनिबार गएको महाभुकम्पबाट पीडित भएकाहरुका लागि विभिन्न संघसंस्थाहरुले राहत संकलन गरी आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन । 
ती संस्थाहरुले संकलन गरेको राहत सामग्रीहरु सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवमार्फत त्यहाँ पठाइएको हो । 
सो क्रममा इन्टिपेन्डेन्ट युथ सप्तरीद्वारा संकलन गरिएका ४५ किलो भुजा, ४० किलो च्युरा, ७८ कार्टुन पानी, ११ थान त्रिपाल, १८ कार्टुन चाउचाउ सहितका राहत सामग्रीहरु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि पठाईएको युथका राहुल देवले जानकारी दिनुभयो । 
त्यस्तै दुर्गा सेकेन्ड्री बोर्डिङ्ग स्कुल राजविराजका प्रिन्सिपल कुमार पाठकले ४२ हजार नगद प्रजिअ यादवमार्फत पठाउनु भएको छ । 
यसैगरी डिहबार बाबा टोल विकास संस्था राजविराज नगरपालिका ५ ले राहत स्वरुप च्युरा ७० किलो, भुजा १५ किलो संकलन गरी प्रजिअ यादवमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि पठाईएको संस्थाका अध्यक्ष तुलसी चौधरीले जानकारी दिनुभयो । 
त्यस्तै सप्तकोशी नगरपालिकाबाट १ हजार ७ सय ४९ कार्टुन पानी, ६६ प्याकेट नुन, २९ बोरा भुजा, ५० बोरा च्युरा, चामल २५ किलो, ५ कार्टुन बिस्कुट संकलन गरी पठाइएको प्रजिअ यादवले जानकारी दिनुभयो ।