भूकम्पमा राजविराज नगरपालिकाको भवनसहित गिलेशनहरु क्षतिग्रस्त
Wednesday, May 06, 2015
दैनिक संवाददाता
राजविराज, २२ बैशाख ।
बैशाख १२ गते गएको महाभूकम्पबाट राजविराज नगरपालिका कार्यालयसहित त्यसको अधिनमा रहेका करिब एक दर्जन गिलेशनहरु क्षतिग्रस्त भएको छ ।
महाभूकम्पले राजविराज नगरपालिका कार्यालयको तल्लो तल्लामा रहेको शौचालय तथा भवनको बाहिरी पर्खालहरु चर्किएको छ । त्यस्तै सोही कार्यालयको दोश्रो तल्लामा रहेको लेखा शाखाको पर्खाल समेत चर्किएको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
त्यसैगरी सोही तल्लामा रहेको मिटिङ्ग हलको माथिल्लो भागमा चिरा परेको छ । त्यस्तै सोही तल्लामा रहेको शौचालयको बाहिरी पर्खालमा पनि चिरा परेको छ ।
यस्तै भवनको सबैभन्दा माथिल्लो तल्लामा रहेको सभाहँल समेत भूकम्पबाट क्षति भएको प्रमुख गुरुङ्गले जानकारी दिनुभयो । उहाँले कार्यालय भवन भरी नै साना ठुला गरी विभिन्न पर्खालहरुमा भुकम्पका कारण चिरा परेको बताउँनुभयो । सोही क्रममा उहाँले कार्यालय क्षतिग्रस्त हुदाँ कार्यालयमा काम गर्न कठिनाई उत्पन्न हुने गरेको जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाको लेखनाथ पुस्तकालयको अधिनमा रहेको एक दर्जन गिलेशनहरु क्षतिग्रस्त भएको छ । भुकम्पका कारण पुस्तकालयको दक्षिण पट्टी रहेको १२ वटा गिलेशन मध्ये ६ वटा गिलेशनमा भुकम्पका कारण पर्खालहरु चर्किएका छन् । यसरी भुकम्पका कारण गिलेशन न. ७, ८, ९, १०, ११ र १२ चर्किएका छन ।
सोही गिलेशन न. ९ मा रहेको राजविराज दैनिकको कार्यालय भूकम्पमा चर्किएकोले कार्यालय सार्नु परेको राजविराज दैनिकका सम्पादक अनिल कुमार अनलले जानकारी दिनुभयो । सो गिलेशनको उत्तर र पूर्व पटीको पर्खालमा मोटो चिराहरु परेका छन । सो गिलेशनको पर्खाल कुनै पनि बेला भत्किन सक्ने संम्भावना रहेकोले कार्यालय सारिएको सम्पादक अनलले बताउँनुभयो ।
त्यस्तै गिलेशन न. १२ को पनि पर्खालहरु चर्किएका छन् । गिलेशन निर्माण भएकै बेलादेखि एक पटक पनि सम्बन्धित निकायले मर्मत सम्भार नगर्दा भुकम्पमा गिलेशनहरु क्षतिग्रस्त भएको गिलेशनमा पसल संचालन गरेकाहरुले आरोप लगाएका छन् ।
सो सम्बन्धमा नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग समक्ष गिलेशनको अवस्था बारे जानकारी गराउँन जाँदा उहाँले राजविराज नगरपालिकाको अधिनमा रहेका अन्य भौतिक संरचनाहरुको पनि क्षति विवरण संकल्न भईरहेको जानकारी दिनुहुँदै आफु बस्ने कार्यालय पनि भुकम्पमा क्षतिग्रस्त भएको बताउँनुभयो ।
त्यसैगरि जिल्लाको विभिन्न गाविसहरुमा सयौं भन्दा बढी घरहरुको पर्खाल चर्किनुका साथै भत्किएको छ । तर, जिल्लामा के कति क्षति भएको हालसम्म पनि तथ्याङ्क उपलब्ध हुन सकेको छैन् । भूकम्पमा भएको क्षति विवरण संकलन गर्ने कार्य अहिले भइरहेको श्रोतबाट बुझिएको छ । यता सप्तरीमा भूकम्पबाट एक जनाको मात्र मृत्यु तथा एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ ।