News Category 2072/05/10

कैलाली घटना सरकारद्वारा दमन गरेपछिको प्रतिवादको घटना ः अध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ भदौ । 
तराई  मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले कैलालीको टीकापुरको घटना सरकारद्वारा दमन गरेपछिको प्रतिवादको घटना भएको बताउनु भएको छ । 
बुधबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आन्दोलनकारीहरुलाई उत्तेजित गरेर दमन गर्न खोजेपछि कैलालीको घटना भएको दाबी गर्नुभयो । 
उहाँले आफ्नो हकअधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्न खोजेको आरोप समेत लगाउनु भयो । विगतमा भएको सहमतिहरु पुरा नभएसम्म संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विगत १२ दिनदेखी गरिरहेको आन्दोलन नरोकिने अध्यक्ष यादवले जानकारी दिनुभयो । 
अध्यक्ष यादवले संविधानसभाबाट मोर्चाको माग पुरा भएमात्र वार्तामा जाने स्पष्ट पार्दै आन्दोलन शान्तिपूर्ण तरिकाले भइरहेकोमा सरकारले त्यसलाई दबाउन विभिन्न प्रकारको दमनकारी नीति अपनाउ खोजिरहेको आरोप लगाउनुभयो । 
एक अर्को प्रसङमा उहाँले तीन पार्टीको गतिविधि मधेशी, मुश्लिम, जनजाति, उत्पीडित, थारु लगायतको पहिचानलाई नै समाप्त पार्न खोजेको आरोप समेत लगाउनुभयो । त्यस्तै कैलाली घटनापछि सरकारले मधेशको केही जिल्लाहरुमा सेना परिचालन गर्नु अत्यन्त निन्दनीय कार्य भएको भन्दै ८ दल सम्मिलित संयुक्त लोकतान्त्रिक मोर्चाले राष्ट्रपतिलाई ज्ञापन समेत बुझाउने जानकारी दिनुभयो । 
सो पत्रकार सम्मेलनमा मधेशी मोर्चा सप्तरीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट