News Category 2072/11/22

स्वतन्त्र मधेशका तीन कार्यकर्ता अदालतको आदेशमा रिहा ६ जना विशेष अदालतको आदेशमा हिरासतमै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
गत फागुन ९ गते शान्तिपूर्ण ¥याली प्रदर्शनका क्रममा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका तीन कार्यकर्ताहरु शुक्रबार अदालतको आदेशमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेका सप्तरीको मलेकपुर गाविस–६ खुरहुरियाका अनिल कुमार ठाकुर, भारदह गाविस ५ का लालविहारी साह, र कटैया गाविस ६ का महेश शर्मा पुनरावेदन अदालत राजविराजको आदेशमा रिहा भएका हुन् । पक्राउ परेकाहरुलाई रिहाईको माग उनीहरुको तर्फबाट सप्तरीको फर्सैठ गाविस ६ का चन्द्रनारायण यादवले अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
स्वराजीहरुको तर्फबाट अधिवक्ता महेन्द्र प्रसाद चौधरी, रामजी साह, नवीन सिंहलगायतका कानून व्यवसायीहरुले बहस गरेका थिए । यता प्रहरी हिरासतमा रहेका गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, मो. उस्मान र बुधेश्वर मण्डललाई राज्य विरुद्धको अपराध मुद्दामा गत मंगलवार विशेष अदालत काठमाण्डौंबाट अनुसन्धानकालागि १२ दिनको म्याद थप गराई हिरासतमै राखिएको छ । 
भारदह स्थित वि.पी. माध्यमिक विद्यालयमा गठबन्धनद्वारा फागुन ९ गते आयोजित कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेका सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई समेत सोमवार विशेष अदालतबाट १२ दिनको म्याद थप गराई हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट