News Category 2073/02/09

आँप उत्पादनमा झण्डै ७० प्रतिशतले कमी

दैनिक समाचारदाता

राजविराज÷सप्तरीमा यस वर्ष आँपको उत्पादनमा झण्डै ७० प्रतिशतले कमी आएको जिल्ला कृषि कार्यालय सप्तरीले जनाएको छ । आँपको उत्पादनमा एक दशक यता नै यस वर्ष आँपको उत्पादनमा सबैभन्दा बढी कमी आएको हो । 
सप्तरी जिल्लामा कूल ५ हजार ४ सय ५० हेक्टर जग्गामा करिब दश लाख आँपको बोट रहेकोमा यस वर्ष ती बोटहरुबाट करिब ६ हजार मेट्रिक टन मात्र आँप उत्पादन भएको जिल्ला कृषि कार्यालय सप्तरीका बाली संरक्षण अधिकृत दिनेश प्रसाद यादवले जानकारी दिनुभयो । 
गत वर्ष सप्तरीमा २७ हजार ७ सय १५ मेट्रिक टन आँप उत्पादन भएको थियो । उहाँका अनुसार यस वर्ष साउन भदौमा थोरै वर्षा भएको तथा वार्षिक वर्षामा कमि आएकोले मधुवा र मिलिवग किराको आक्रमणको कारणले कमि आएको जानकारी दिनुभयो ।
त्यस्तै सुख्खाको कारणले प्रतिकुल वातावरण उत्पन्न भई फल अड्न नसकेको तथा नोक्सानी भएको तथा आँप उत्पादन, रोगको प्रकोप, हावाहुरी, असिना, कमजोर बगैचा व्यवस्थापन लगायतका कारणले आँप उत्पादनमा कमी भएको बताउनुभयो । 
यस जिल्लामा कूल आँपको बोटमध्ये ७५ प्रतिशत बोट पूर्व पश्चिम राजमार्गको उत्तरी भेगमा रहेको छ । आँपको उत्पादन कमी आएपछि आँपको मूल्यमा समेत ठूलो मात्रामा बृद्धि हुने भएको छ । 
सप्तरीको आँपको मुख्य बिक्रि केन्द्र काठमाडौं नै मानिएता पनि यस पटक आँप जिल्लामै आपूर्ती अपूग हुने भएको छ । सप्तरीमा मुख्यत मालदह, बम्बई, अम्रपाली, मल्लिका, केलुवा, कृष्णभोग, कल्कतिया लगायतको खेती हुने गरेको छ । 
आर्थिक बर्ष ०५३÷०५४ मा सप्तरीमा करिब ३ हजार हेक्टर जग्गामा आँपको बगैचा रहेको थियो । जसमध्ये एक हजार हेक्टर जग्गामा आँपको पुरानो बोट रहेको कारण सो रुखहरु कटान भई सकेको छ । यद्यपी हालको अवस्थामा तीन हजार हेक्टरमा आँपको खेतीमा बृद्धि भएको छ । यसबाट के बुझिन्छ भने यस जिल्लामा आँपको खेतीतर्फ किसान बढी आकर्षित रहेका छन् । तर यस पटक मौसममा परिवर्तन भएकोले आँप उत्पादनमा कमी हुने भएकोले यहाँका आप व्यपारीहरु चिन्तित देखिन थालेका छन् । 
सहकारीको नाममा करोडौं रुपैया अनुदान दिई कार्यकर्तालाई बाँडफाँड गर्नुभन्दा आँपको ब्यवस्थापनका लागि सप्तरीमा शीत भण्डारको निर्माण गरिनुपर्ने आवश्यकता रहेको छ । औद्योगिक क्षेत्रको रुपमा सबभन्दा पछाडि रहेको यस जिल्लामा आँपको खेतीतर्फ सरकारको ध्यान गई किसानलाई समयमा तालिम तथा सामग्रीहरु प्रदान गरि उचित बजार ब्यवस्थापन र मूल्य पाएमा सप्तरीको प्रगतिमा आँप खेतीको महत्वपूर्ण योगदान हुुने थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट