News Category 2073/02/20

कुरुप र अव्यवस्थित बन्दै राजरंगशाला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ जेठ । 
राजविराजको मुटमा रहेको राजरंगशाला अहिले सम्बन्धित निकायको वेवास्ताका कारण कुरुप, अव्यवस्थित बन्नुका साथै खुल्ला चरणको रुपमा परिणत भएको छ । वर्षा भएपछि केही क्षणमै राजरंगशाला पोखरीमा समेत परिणत हुन्छ । 
वि.स.२०३६ सालमा तत्कालिन अंचलाधिश लक्ष्य बहादुर गुरुङ र स्थानीयबासिन्दाको सहयोगमा निर्माण गरिएको सो रंगशाला सम्बन्धित निकायको वेवास्ताका कारण अहिले जिर्णोधारको पखाईमा रहेको छ । 
३६ वर्ष अघि निर्माण भएको यो रंगशाला दुई विघा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । समय समयमा मर्मत सम्भार नभएपछि अहिले रंगशालाको पर्खाल, ७ हजार दर्शक अटाउने क्षमता रहेको प्याराफिट ठाउँ ठाउँमा भत्केर जीर्ण भएको छ । 
रंगशालाको मुख्यद्वारा समेत जिर्ण हुँदा अहिले सो स्थान र पर्खाल भत्केको स्थानहरुबाट मानिसहरु पसेर रंगशालामै दिसा पिसाब गर्ने गरेका छन् । यति मात्र होइन् जनावर समेत यहाँ चर्ने गरेका छन् । 
पर्खाल भत्किएकै कारण नजिकै रहेको बसपार्कबाट यात्रु र स्थानीयबासिन्दाले समेत मैदानलाई शौचालयको रुपमा प्रयोग गर्न थालेका छन ।
अहिले यो रंगशाला राजनैतिक दलको सभा र कार्यक्रम गर्ने थलोको रुपमा प्रयोग हुने गरेको छ भने कहिले काँही यस रंगशालामा सप्ताहव्यापी कार्यक्रम समेत हुनेगर्दछ । मैदान सो कार्यक्रम गर्न गाडिएको टेन्टका कारण खाल्डा खुल्डी बनाइएको छ । 
यता दिसा पिसाबका कारण फोहोर र दुर्गन्धित मैदानमा अर्कोतिर ठूल ठूला खाल्डा खुल्डीले फुटबलको अभ्यास गर्न गराउनमा निकै समस्या हुने गरेको फुटबलका प्रशिक्षक राजकुमार परियार बताउनुहुन्छ । 
रंगशालाको प्याराफिट अति जिर्ण भएकै कारण कुनै बेला पनि ठूलो दुर्घटना हुने सम्भावना समेत रहेको छ । त्यती मात्र नभएर जिर्ण रहेको प्याराफिटमुनी रहेको खाली स्थानमा कोठा बनाएर स्थानीय विपन्न समुदायका परिवारहरु बसोबास गरिरहेका छन् । यता सम्बन्धित निकायको मौनताका कारण रंगशालाको जग्गा अतिक्रमणको चपेटमा समेत पर्न थालेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट