News Category 2073/03/16

ऐतिहासिक पुस्तकालयको भवन जिर्ण बन्दै, पुस्तकहरु धमिराले खाँदै

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, १५ असार । 
सप्तरीको एक मात्र ऐतिहासिक पुस्तकालय “लेखनाथ आदर्श पुस्तकालय” जिर्ण अवस्थामा पुगेको छ । फलस्वरुप पुस्तकालयको सिलिङ (छत) आफै भत्किएर झर्दैछ भने पर्खालहरुमा चिरा परेको छ । 
यसरी हेर्दा मुलुककै पुरानो पुस्तकालय मध्ये एक पर्ने लेखनाथ पुस्तकालयको अवस्था राजविराज नगरपालिकाको अवस्था झैं भएको छ । पुस्तकालय भवन पूर्ण रुपमा जिर्ण हुँदा समेत नरपालिकाले कुनै प्रकारको चासो समेत देखाएको छैन् । एउटा कार्यालय सहयोगिको भरमा बिहान खुल्ने र बन्द गरिने सो पुस्तकालय भित्र दुई वर्ष अघि सूचना केन्द्रको रुपमा बिस्तार गरिएको थियो । सूचना केन्द्रको रुपमा बिस्तार गरिएको सो पुस्तकालय अहिले हेर्नमा मात्र सीमित भएको छ । किन भने त्यहा कम्प्युटर छ, तर, चल्दैन ।
यस्तै पुराना पुस्तकहरु अहिले धमिराले खाइसकेपछि त्यसलाई दराजमाथि खुल्ला रुपमा राखिएको छ । व्यवस्थित रुपमा पुस्तक नराखिनाले पाठकहरुले सो पुस्तक वर्षौदेखि छुन समेत पाएका छैनन् । दराजमाथि धुलैधुलाले पुरिएपछि पुस्तकको नाम समेत मेटिएको छ । 
राणाकालदेखिकै पुस्तकहरु उपलब्ध रहेको सो पुस्तकालय अव्यवस्थित र अभिभावकबिहीन हुँदा अहिले पाठकहरु समेत आउन छोडेका छन् । 
यता राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङले पुस्तकालयको विषयमा आफूहरुलाई पूर्ण जानकारी हुँदा हुँदै पनि आर्थिक अभावका कारण पुस्तकालयको भवनको जिर्णोद्धार गर्न नसकिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा राजविराज नगरपालिकाको स्तरउन्नतिका लागि सरकारबाट प्राप्त ५० करोड अनुदानबाटै नयाँ भवन बनाउने जानकारी दिनुभयो ।
वि.स. १९९९ सालमा सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा आदर्श पुस्तकालय (लेखनाथ) स्थापना भएको हो । राजविराजमा कर्मचारीको लागि छुट्याइएको ८ विगहा जग्गामा स्वर्ण (लंका) टोलमा स्थापना भएको थियो । 
वि.सं. २०२१÷०२२ सालमा तत्कालिन सूर्यप्रसाद श्रेष्ठ सहायक अंचलाधिश भएको बेलामा उहाँकै प्रयासमा आर्दश पुस्तकालयलाई लेखनाथ आर्दश पुस्तकालय नामाङकन गरि भवन निर्माण गराई उद्घाटन गरिएको थियो । उक्त पुस्तकालयलाई संचालन गर्न स्थानिय बद्री प्रसाद लुईटेललाई जिम्मा लगाइएको थियो । जसको लाइब्रेरियनमा हाल अवकाश प्राप्त मावि शिक्षक शिवराज भट्टले निःशुल्क सेवा दिँदै आउनु भएको थियो । उहाँ २०३५ सालसम्म पुस्तकालय निरन्तर संचालन भइरहेको थियो । तर, पछि उक्त पुस्तकालय नेपाल स्काउटको जिम्मा लगाइएको थियो । र २०४९ सालसम्म पुस्तकालय स्काउटकै निगरानीमा संचालनमा रहेको थियो ।  
यस्तै बि.सं. २०४७ सालको राजनीतिक परिवर्तनसँगै तत्कालिन राजविराज नगरपालिकाका मेयर जगरनाथ दासको पालासम्म राम्ररी नै संचालन भएको थियो । जुन पुस्तकालयमा विपी कोइराला, पुष्पलाल श्रेष्ठको टिप्पणीसहितको निरिक्षण पुस्तिका रहेको थियो । तर अहिले सो पुस्तिकाहरु लथालिङ अवस्थामा रहेको छ । सायदै पुस्तकालयमा सो पुस्तिकाहरु अहिले उपलब्ध हुने कुरामा शंका रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट