News Category 2073/03/29

सरकारबाट माओवादीको समर्थन फिर्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
वर्तमान सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । यससँगै ओली सरकार संकटमा परेको छ ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिनुहुने भएको छ । 
प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो, र संसदले नै हटाउन सक्छ, प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभयो ।
यता माओवदी केन्द्रका संसदीय दलका सचेतक हितराज पाण्डे र जनार्दन शर्माले प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिएको पत्र बुझाउनु भएको छ ।
पत्रमा प्रचण्डले पठाएको पत्रमा नौं बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको आरोप लगाइएको छ । ‘अब यो सरकारमा रहिरहन राजनीतिक रुपमा उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृवको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं’ पत्रमा भनिएको छ । पत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि शुभकामना दिनु भएको छ । 
माओवादी केन्द्रका नेताद्वय पाण्डे र शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषय राष्ट्रपति विद्या भण्डारीलाई पनि जानकारी गराउनु भएको छ ।
यस्तै महासचिव कृष्णबहादुर महाराले सभामुख ओनसरी घर्ती मगरलाई जानकारी गराउनु भयो । 
यसैबीच नेता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेसले सहमति जनाइसकेको दाबी गर्नुभएको छ ।
केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय जानकारी गराउन माओवादी केन्द्र संसदीय दल सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले यस्तो दाबी गर्नुभएको हो । 
‘संविधान कार्यान्वयनको लागि पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ’, महराले भन्नुभयो,‘दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्नेछ ।’

प्रतिकृया दिनुहोस

ताजा अपडेट