News Category 2073/10/07

छिन्नमस्तामा प्रहरी कार्यालयको भवन निर्माण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाविसस्थित इलाका प्रहरी कार्यालय भवनको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । 
शान्ति मन्त्रालयको शान्ति कोषद्वारा निर्माण गरिएको यो प्रहरी भवनको बिहीबार शान्ति मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले रिबन काटेर उद्घाटन गर्नुभएको छ । 
द्वन्द्वकालमा ७ सय ६८ वटा प्रहरी भवन क्षतिग्रस्त भएकोमा ३ सय ३९ वटा निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो ।
भवन उद्घाटन कार्यक्रममा पूर्व क्षेत्रिय प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी पवन खरेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, छिन्नमस्ता शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरसहितकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भवन निर्माण समितिका अध्यक्ष सुरेन्द्रनारायण मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा जग्गा दान गर्ने छिन्नमस्ता २ का जगरनाथ ठाकुर, समुल्लाह र सदिक मियालाई तथा भवन निर्माण समितिका पदाधिकारी एवं मन्दिरका पिठाधीश ठाकुर समेतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । 
कुल ११ वटा कोठा रहेको इलाका प्रहरी कार्यालयको तीन तल्ले भवनमा कार्यालय प्रमुखको निवास, प्रशासनिक कक्ष, लेखा, अपराध अनुसन्धान र हिरासत कक्ष रहेको छ । एक करोड ४७ लाख ५९ हजार १ सय ६१ को लागतमा भवन निर्माण गरिएको छ ।
नवनिर्मित प्रहरी कार्यालयमा हिरासत कक्ष भित्रै एट्याच बाथरुम र टेलिभिजन समेत जडान गरिएको छ । भवनभित्र महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष बनाइएको छ । सो भवनमा चाडै पत्रपत्रिका पढ्ने व्यवस्था समेत गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट