दुर्घटनामा एक प्रहरी जवानसहित दुईको मृत्यु, पाँच घाइते
Tuesday, January 24, 2017
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
सप्तरीको दुई स्थानमा आइतबार राती भएको सवारी दुर्घटनामा एक प्रहरी जवानसहित दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको सितापुर ३ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी चौकी सोरुङछबिसे दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत ३५ बर्षिय ज्ञानदेव यादव रहेका छन् ।
उनी सवार को २६ प ३००१ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई डुमारजोद पुलमा ठोक्किदा घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय माहुलीले जनाएको छ ।
यता पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको शम्भुनाथ नगरपालिका ५ मा कार अनियन्त्रित भइ दुर्घटना हँदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ६ च ८९७८ नम्बरको कार अगाडीको चक्का पम्चर भई दुर्घटना भएको थियो । दुर्घटनामा कारमा सवार धरान ११ की २५ बर्षिय रबिना राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले जनाएको छ ।
सो दुर्घटनामा कार चालक सोही ठाउँका २८ बर्षिय शान्त राई, २१ बर्षिय सम्झना राई, २४ बर्षय नोचिना राई, ५ बर्षिय निनिशा राई, र २३ बर्षिय पबित्रा लोसाई घाइते भएका छन् । घाइते सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।