News Category 2074/02/12

ठाकुर, यादव र गच्छदारबीच गोप्य वार्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ११ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग छलफल गरेका छन् ।
दोस्रो चरणको चुनाव नजिकिँदै जाँदा राजपा अध्यक्ष ठाकुरले यादव र गच्छदारलाई सानोथिमीस्थित आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । यो भेटमा तीन नेता मात्र सहभागी थिए ।
ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन् । ‘हामी चुनाव विरोधी होइनौं । तर, न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौं अनि चुनावमा कसरी जाने ?’ त्रिपक्षीय छलफलमा ठाकुरले भनेका छन् ।
तीन नेताबीच चुनावी तालमेलबारे पनि छलफल चएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा साझा उम्मेदबारी दिनको लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन् । मधेशी जनताको चाहना र भावना अनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो ।
यादवको प्रस्तावलाई सकारात्मक रुपमा लिएका गच्छदारले मिलेर अघि बढ्न सकिने बताएका छन् ।
यद्यपि, त्रिपक्षीय छलफलमा कुनै सहमति जुट्न सकेन । राजपा अध्यक्ष ठाकुरले आन्दोलनको प्रसंग निकाल्दा फोरम अध्यक्ष यादव र लोकतान्त्रिका गच्छदारले मधेसको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सुझाव दिएको एक नेताले बताएको अनलाइन खबरमा समाचार छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट