News Category 2074/02/21

‘मतपत्र जटिल छ, मतदाता शिक्षा प्रभावकारी भएन्’ ः मतदाता, मतदाता शिक्षालाई प्रभावकारी बनाउन लागिपरेका छौं ः निर्वाचन अधिकारी

दैनिक समाचारदाता

राजविराज÷स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय सप्तरीले जिल्लामा मतदाता शिक्षा सुरु गरेको छ । तर, मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाताले मतदानको समयमा समस्या हुने गुनासो गरेका छन् ।
यता जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन निर्वाचन कार्यालयको टोलीले अनुगमनलाई तिब्रता पार्दै निर्वाचन व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 
स्थानिय तहको निर्वाचनका लागि मतदाताहरुलाई मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने, छाप लगाइसकेपछि कसरी पट्याउने, कसरी छाप लगाएमा मत बदर नहुने, कसरी लगाएमा मत सदर हुने लगायतका शिक्षा दिने गरिएको उहाँले जानकारी दिनुभयो ।  
निर्वाचन अधिकारी ठाकुरले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आफूहरु लागिपरेको दाबी समेत गर्नुभयो । उहाँले सामाजिक परिचालक तथा बालविकास सहजकर्ताहरुले विगत दुई साता बढीदेखी मतदाता शिक्षा सम्बन्धी कार्यमा लागेका छन् तर, केही स्थानमा त भरपर्दो नभएको अनुगमनका क्रममा पाएको जानकारी दिनुभयो । उहाँले समग्रमा भन्दा पछिल्लो राजनीतिक अवस्थाले गर्दा मतदाता शिक्षा कार्यक्रम संचालन गर्न सजिलो हुने भएकोले थप व्यवस्थित र प्रभावकारी हुनेमा विस्वस्त रहेको बताउनुभयो ।
जेठ ५ गतेदेखी नै मतदाता शिक्षा सूचारु भएको बताउँदै अधिकारी ठाकुरले बीचमा केही राजनीतिक अस्थिरताका कारण केही दिन अवरुद्ध भएको तर पूर्ण रुपमा कहिले बन्द नभएको जानकारी दिनुभयो । उहाँले अहिले स्थिति सहज भएकोले मतदाता शिक्षा सूचारु रहेको छ । 
जिल्लाको ९ नगरपालिका र ८ गाउँपालिकामा ४ सय ६१ मतदान केन्द्रका लागि २ सय ९२ मतदाता स्थलमा ४ सय ६१ कर्मचारीहरु सामाजिक परिचालक तथा बालविकास सहजकर्ताहरु मार्फत मतदाता शिक्षा दिदै आएको उहाँले बताउनुुभयो । 
निर्वाचन अधिकारी ठाकुरले भन्नुभयो, “५१ सेन्टीमिटर चौडाई र ७२ सेन्टीमिटर लम्बाई रहेको मतपत्रमा ६८ चुनाव चिन्ह रहेको छ ।”
यता निर्वाचन कार्यालयको टोलीसँग मतदाता शिक्षा दिदै गरिएको केही स्थानमा निरीक्षण गर्न पुगेको यस पत्रिकाको टोलीले राजविराजका केही वडामा मतदाता शिक्षा सम्बन्धी पोस्टर टाँसिएको तथा मतदाताहरुलाई शिक्षा दिइदै गरेको दृश्यहरु देख्यो । तर, अधिकांश वडामा मतदाता शिक्षा सम्बन्धी कामकाज अति सुस्त देखिएको थियो । 
मतदाता शिक्षा कार्यक्रम अनुसार मतदाताहरुलाई कुनै एक ठाउँमा जम्मा गरि र घरदैले समेत गरि आवश्यक जानकारी दिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । तर, राजविराजमै त्यस्तो नदेखिएको अवस्थामा गाउँपालिकाहरुको स्थिति स्वतह छरपष्ट हुन्छ । 
मतदाताहरुले अहिलेसम्म मतपत्रको नमूना हेर्न नपाएको गुनासो समेत पोखेका छन् । राजविराज वडा नं. ८ साविकको वडा नं. ५ की मतदाता शारदा मुडभरीले यस पटकको मतपत्र अत्यन्त जटिल रहेको भन्दै यसको शिक्षा दिनु अति आवश्यक रहेको बताउनुभयो । उहाँले मतपत्र पट्याएर बाकसमा खसाल्न समेत गाह्रो हुने भएकोले यस सम्बन्धी अझ शिक्षा दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो । 
यस्तै राजविराज वडा नं. ३ साविकको ४ की सामाजिक परिचालक तारा कटवालले मतदाताहरुलाई मतपत्रमा स्वस्तिक छाँप लगाउनेदेखी लिएर मतपत्र पट्याउनेसम्मका साथै मत बदर र सदर सम्बन्धी शिक्षा समेत दिँदै गरेको देखियो । तर, मतपत्रको आकार ठूलो भएकै कारण मतदातालाई बुझ्न जटिल भएको छ । मतदाता शिक्षामा खटिएका केही सामाजिक परिचालक तथा बालविकास सहजकर्ताहरुले आफूहरुलाई घर घरमा गएर शिक्षा दिन समय नपुग्ने भन्दै सामूहिक रुपमा चौक चौकमा शिक्षा दिदै आएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट