News Category 2074/09/24

बढ्यो चिसो, सप्तरीमा मृत्यु हुनेको संख्या १५ पुग्यो, प्रहरीद्वारा पाँच जनाको मात्र पुष्टि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३, पुस ।  
बिगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
यता मृत्यु भएका १५ जना मध्ये पाँच जनाको प्रहरीले पुष्टि गरेको छ । पछिल्लो पटक जिल्लाको खडग नगरपालिका ७ खोरियाका ६० वर्षिय प्रेमबहादुर माझी र तिलाठी कोईलाडी गाउँपालिका ४ का ७० वर्षिय नारायण मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
यस्तै अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ का ६० वर्षिय लखन ठाकुर, कञ्चनरुप नगरपालिका  २ बरमझियाका ५५ वर्षिय बेचन शेख र खडग नगरपालिका ८ मुसहरनियाँका ६० वर्षिय मुसहरु चौधरीको चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । 
यस्तै कंचनरुप नगरपालिका ७ निवासी ६१ वर्षिय उत्तम मरिक डोम, वडा नं. ४ जगतपुरका ललित चौधरीको ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको छ । उनी चिसोका कारण बिरामी भएपछि उपचारका लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तजनले बताएका छन् । यस्तै तिलाठी कोईलाडी गाउँपालिका २ का ५६ वर्षिय सुजन ठाकुर, वडा नं. ७ का ३५ वर्षिय शिबु मण्डल, महदेवा गाँउपालिका वडा नं. २ का ५८ वर्षीय सुकदेव यादब, राजबिराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग, वडा नं. २ का ६० वर्र्र्षीया नाजो बेगम, छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय, सोही वडाका ३५ वर्षीय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको स्थानिय तहका जिम्मेवार पदाधिकारी र आफन्तजनले बताएका छन् । 
यता राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा कोल्ड डायरिया, निमोनिया, रुखा खोकी लगायतका बिरामीहरु बढ्दै गएको छ । चिसोका कारण अधिकांश बालबालिकाहरु प्रभावित भएको छन् । यसैबीच अस्पतालमा भर्ना भएका बिरामीहरुका आफन्तले चिसोको मौसममा समेत अस्पताल प्रशासनले ओढ्ने व्यवस्था नगरेको बताएका छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लाका ७ हजार अति विपन्न गरिब जनतालाई ब्याङकेट बितरण गरिसकेको जानकारी दिएका छन् भने अझ ७ हजारको संख्यामा विभिन्न संघसंस्थाको सहयोगमा ब्याङकेट वितरण गर्ने बताए । उनले जायकाको सहयोगमा ३ हजार ब्लाङकेट सहयोग प्राप्त गरेको जनाउँदै अन्य संस्थाहरुले समेत सहयोग गरिरहेको बताए । 
उनले चिसोको समयमा आमनागरिकलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गर्दै कुनै काम विशेषले बाहिर निस्केमा न्यानो कपडा लगाएर मात्र निस्कन सल्लाह समेत दिएका छन् । 
यता चिसो हावासँगै शितलहरी बढेपछि बिहीबारदेखी सप्तरी जिल्लाका सबै ४ सय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । चिसोका कारण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालयसम्म पुग्न निक्कै कठिनाई उत्पन्न भएपछि बिहीबारदेखी बन्द गरिएको विद्यालय आइतबारदेखी  पुनः चार दिनका लागि बन्द गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए । 
आइतबारदेखी झन् चिसो बढेपछि जिल्लाका निजि विद्यालयहरु पनि तीन दिनका लागि बन्द गरिएको प्यावसन सप्तरीका अध्यक्ष पंचदेव यादवले जानकारी दिए । यता एनप्याबसन अन्तरगतका विद्यालयहरुमा आइतबारदेखी परिक्षा संचालन भइरहेकोले विदा दिन नसकिएको एनप्यावसन सप्तरीका अध्यक्ष बौकु साहले जानकारी दिए । 
यसैबीच चिसो बढेपछि आगो ताप्नको लागि सशस्त्र प्रहरी बल सिमा सुरक्षाले सर्वसाधारणलाई दाउरा बितरण गरेको छ । 
सप्तरीको पातोस्थित सशस्त्र प्रहरी बल चेक पोष्टले स्थानिय सर्वसाधारण जनताको सहयोगका लागि दुई सय क्विन्टल दाउरा बितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 
जिल्लाको डाक्नेश्वरी नगरपालिकाको सहकार्यमा उक्त दाउरा बितरण गरेको बताइएको छ । सो नगरपालिकाको विभिन्न स्थानमा दुई सय क्विन्टल दाउरा बितरण गरिएको हो ।
तराईमा बिगत चार÷पाँच दिनदेखि बाक्लो हुस्सु र सितलहरको कारण जनजीवन कष्टकर बनेपछि सशस्त्र प्रहरीले दाउरा वितरण कार्य सुरु गरिएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट