News Category 2074/09/27

दुई दिनको घामपछि पुनः चिसो बढ्यो मृत्यु हुनेको संख्या १९ पुग्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६, पुस ।  
दुई दिनदेखी घाम लागेको सप्तरीमा बुधबार पुनः हुस्सु लागेसँगै चलेको चिसो हावाका कारण जिल्लामा फेरी चिसो बढेको छ । अत्याधिक चिसोका कारण जिल्लाको जनजिवन झनै कष्टकर बनेको छ । 
यता चिसो बढेसँगै जिल्लामा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या १९ पुगेको छ । पछिल्लो पटक जिल्लाको कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षिय जडोली सदा, छिन्नमस्ता गाउँपालिका ७ हाटीका अबजल मंसुरीका १३ महिने छोरा अबदुल्हा मंसुरी, शम्भुनाथ नगरपालिका २ कनकपट्टीका ७ वर्षिय जितेन्द्र सदा र तिरुहत गाउँपालिका १ निवासी ६५ बर्षीया भटनि देवी यादवको मृत्यु भएको हो । 
यसअघि सप्तरीमा अत्याधिक चिसोका कारण कठ्याग्रिंएर १५ जनाको ज्यान गएको थियो । यता मृत्यु भएका १९ जना मध्ये ९ जनाको प्रहरीले पुष्टि गरेको छ । 
यता राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा कोल्ड डायरिया, निमोनिया, रुखा खोकी लगायतका बिरामीहरु बढ्दै गएको छ । चिसोका कारण अधिकांश बालबालिकाहरु प्रभावित भएको छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लाका ८ हजार अति विपन्न गरिब जनतालाई ब्याङकेट बितरण गरिसकेको जानकारी दिएका छन् भने अझ ७ हजारको संख्यामा विभिन्न संघसंस्थाको सहयोगमा ब्याङकेट वितरण गर्ने बताए । उनले जायकाको सहयोगमा ३ हजार ब्लाङकेट सहयोग प्राप्त गरेको जनाउँदै अन्य संस्थाहरुले समेत सहयोग गरिरहेको जनाए । 
उनले चिसोको समयमा आमनागरिकलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गर्दै कुनै काम विशेषले बाहिर निस्केमा न्यानो कपडा लगाएर मात्र निस्कन सल्लाह समेत दिएका छन् । 
यता चिसो हावासँगै शितलहरी बढेपछि सप्तरी जिल्लाका सबै ४ सय १२ सामुदायिक विद्यालय बुधबारसम्मका लागि बन्द गरिएको छ । निजि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको थियो । तर, बुधबारदेखी विद्यालय खुलेपनि बढेको चिसोका कारण विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति न्यून रहेको थियो । 
पछिल्लो पटक जिल्लाको खडग नगरपालिका ७ खोरियाका ६० वर्षिय प्रेमबहादुर माझी र तिलाठी कोईलाडी गाउँपालिका ४ का ७० वर्षिय नारायण मुखिया, अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ का ६० वर्षिय लखन ठाकुर, कञ्चनरुप नगरपालिका  २ बरमझियाका ५५ वर्षिय बेचन शेख र खडग नगरपालिका ८ मुसहरनियाँका ६० वर्षिय मुसहरु चौधरीको चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । 
यस्तै कंचनरुप नगरपालिका ७ निवासी ६१ वर्षिय उत्तम मरिक डोम, वडा नं. ४ जगतपुरका ललित चौधरीको ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको छ । उनी चिसोका कारण बिरामी भएपछि उपचारका लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तजनले बताएका छन् । यस्तै तिलाठी कोईलाडी गाउँपालिका २ का ५६ वर्षिय सुजन ठाकुर, वडा नं. ७ का ३५ वर्षिय शिबु मण्डल, महदेवा गाँउपालिका वडा नं. २ का ५८ वर्षीय सुकदेव यादब, राजबिराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग, वडा नं. २ का ६० वर्र्र्षीया नाजो बेगम, छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय, सोही वडाका ३५ वर्षीय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको स्थानिय तहका जिम्मेवार पदाधिकारी र आफन्तजनले बताएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट