News Category 2074/10/01

शितलहरबाट सप्तरीमा २९ को मृत्यु प्रहरीद्वारा १६ को मात्र पुष्टि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ ।
गत हप्ता मात्रै चिसोबाट ९ जनाको मृत्यु भएको छ । यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ भने हालसम्म १६ जनाको चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 
पछिल्लो पटक जिल्लाको सप्तकोशी नगरपालिका २ की ६० वर्षिया कृष्णा परियारको मृत्यु भएको सप्तरीका डीएसपी ध्रुव श्रेष्ठले जानकारी दिएका छन् । 
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले आफ्नै नेतृत्वमा विभिन्न स्थानमा शितलहर र बाढी पीडितहरुलाई न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिएको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय आफ्नै नेतृत्वमा जिल्लाको विभिन्न चिसो प्रभावित र बाढी प्रभावित बस्तिहरुमा गएर विभिन्न संघसंस्थाहरुले सहयोग गरेको कम्बल, ब्लायङ्केट  तथा न्यानो कपडाहरु बितरण गर्न लागिपरेका छन् । 
प्रजिअ पाण्डेयका अनुसार हालसम्म १३ हजार भन्दा बढी कम्बल र ब्लायङ्केट तथा ७५ बोरो न्यानो कपडा बितरण भइसकेको छ । 
विभिन्न स्थानिय संघसंस्था तथा जायका, सेभ द चिल्ड्रेन, युनिसेफ, कुबँर फाउण्डेशन, धुर्मुस सन्तली फाउण्डेशन लगायतका राष्ट्रिय संघसंस्थाहरुले सहयोग गरेको जानकारी दिएका छन् । यस बाहेक अन्य संस्थाहरुले आफै पनि कपडाहरु बितरण गरिरहेको समेत बताए ।
यस्तै आफ्ना संसदीय निर्वाचन क्षेत्र सप्तरी २ का गरिब तथा विपन्न परिवारलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्बल वितरण सुरु गरेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका सय भन्दा बढी शितलहरपीडित गरिब तथा विपन्न परिवारलाई फोरम अध्यक्ष यादवले स्तरीय ब्लयांकेट वितरण गरेका हुन् । उनले ब्लायंकेट वितरण गर्दै घरमा आएका पाहुनकालागि साँचेर नराख्न् र यसैवर्षको शितलहरबाट जोगिन ब्लायंकेट ओढ्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट