News Category 2074/10/04

चोरी गरिएको सुनचाँदीका गरगहनासहित चार पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
सप्तरी छिन्नमस्ता गाउँपालका ३ स्थित एक सुन चाँदी पसलबाट सुन, चाँदीका गहना तथा नगद चोरी गरेको आरोपमा चार जनालाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरि सार्वजनिक गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार पत्रकार सम्मेलन गरि चोरीको आरोपमा पक्राउ परेका चार जनासहित बरामद गरिएको सामानहरु सार्वजनिक गरिएको हो । 
छिन्नमस्तास्थित राजेश्वर साहको अन्जनी सुन चाँदी पसलको पर्खाल फुटाई ३५ किलो चाँदी, १२ तोला सुन र नगद १ लाख ८८ हजार बराबरको धनमाल चोरी भएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
यता चोरीको आरोपमा पक्राउ परेकाहरुमा राजविराज नगरपालिका ४ निवासी मुरली कुमार साह, छिन्मस्ता गाउँपालिका ५ निवासी संतोष कुमार साह सुनार, शत्रुधन साह सुनार र सोही स्थानका  महेश यादव रहेका छन् । 
चोरीको आरोपमा पक्राउ परेकाहरुले चोरेको रकमबाट एक नयाँ मोटरसाइकल समेत खरीद गरेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल उदयपुरको शोरुमबाट खरीद गरिएको प्रहरीको भनाइ छ ।
यस्तै प्रहरीले उनीहरुको साथबाट सुनचाँदीहरु मध्ये काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, सादा चुरा १२ थान, पंचक ५ थान, विभिन्न मोडेल र साईजको बाला सात थान, पायल १६ थान, दुईहारे सिक्री २० थान, पाउजु ५१ थान, ब्रासलेट १२ थान, सिक्री ४५ थान, चुरी ठूलो एक थान, सानो २ थान, काटीएको बेरुवा एक थान, औठी ४९ थान, बिच्छी ४२ थान, चक्ति १७ थान, गणेश भगवानको मुर्ती एक थान, सिंदुर क्याप एक थान, पैसा सानो र ठूलो ११ थान, पुरानो लाम्चो सिक्का एक थान, सुनचाँदी तौल गर्ने मेसीन एक थान रहेको छ । 
त्यस्तै बरामद भएका अन्य सामानहरुमा चाँदीको रड तीन थान, चाबी चार थान र झोला एक थान रहेको छ भने चोरी गरिएको नगदबाट खरीद गरिएको ना ४९ प १९०७ नं. को मोटरसाइकल समेत रहेको छ । 
यता पक्राउ परेकाहरुलाई चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट