News Category 2074/10/07

सरकारले प्रदेशको अस्थायी मुकाम तोके लगत्तै बिरोध सुरु, सातै प्रदेशको प्रमुख पनि तोकियो

दैनिक समाचारदाता

राजविराज÷सरकारले सात प्रदेशका प्रमुख नियुक्त गर्नुका साथै सातै प्रदेशको अस्थायी मुकाम समेत तोकेको छ ।
यस्तै सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी मुकाम तोकिएको छ । 
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । 
राष्ट्रपति निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिबाट नवनियुक्त प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ललाई शपथ ग्रहण गराइएको हो । 
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली लगायतको उपस्थिति थियो ।
यता सरकारले अस्थायी मुकाम तोके लगत्तै विभिन्न स्थानमा सोको बिरोध समेत सुरु भएको छ । 
प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएको विरोधमा वीरगञ्जमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले वीरगञ्ज पथलैया र वीरगञ्ज कलैया सडकखण्डमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रादेशिक राजधानीका लागि जारी आन्दोलनमा समर्थन बढ्दै गएको संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिए । 
आन्दोलनमा उद्योग वाणिज्य संघले पनि समर्थन जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले वीरगञ्ज हरेक हिसाबले राजधानीका लागि सक्षम रहेकोले राजधानीको विकल्प खोज्न नहुने बताए । यस्तै पर्सा कपडा सिलाई संघले पनि आन्दोलनमा समर्थन जनाएको छ । 
यस्तै धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ ।
बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । 
आन्दोलनकारीले धनकुटा बजार बन्द गराउँदै हिँडेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदिप चढेर आएको ना१झ १३१४ नंको गाडी तोडफोड गरिदिएका छन् । स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् ।
आन्दोलनकारीले सरकारी कार्यालयमा लगाइएको आगो निभाउन हिँडेका धनकुटा नगरपालिकाको दमकल पनि तोडफोड गरेका छन् । मोरङबाट बिरामी लिन भोजपुर हिँडेको एम्बुलेन्समाथि आक्रमण हुँदा एम्बुलेन्स चालक रञ्जित गिरी सामान्य घाइते भएको थाहाभएको छ । आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा तोडफोड गरी आगजनी गरेका छन् । आगजनीमा कार्यालयका रहेका कम्प्युटर, टेबल, कुर्सी जल्नुका साथै झ्यालका सिसा फुटेका छन् । 
तोडफोड र आगजनी हुन थालेपछि सुरक्षकर्मीसँगको झडपमा परेर नेपाली काँगेसका कोषाध्यक्ष दिनेश राईसहित सातजना घाइते भएको आन्दोलनकारीले जनाएका छन् । 
यसैगरी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय तोडफोड गरिनुका साथै त्यहाँ रहेको एक मोटरसाइकलसमेत आगजनी गरिएको छ । जिल्ला मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत विराटनगर धनकुटा इजलासलगायत एक दर्जन कार्यालयमा तोडफोड भएका स्थानीय प्रशासनले जनाएको छ । 
यस्तै प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा दाङ जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण बिहीबार पनि बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् ।
नयाँ सरकार बनेपछि प्रदेश 
मुकाम बारे पुनर्विचार
 हुनसक्छ ः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । 
आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई बिहीबार थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ कहाँ अस्थायी राजधानी तोक्ने, कहाँ कहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताए ।
उनले प्रदेश प्रमुखहरूका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट गरे । निर्वाचनबाट ताजा जनादेश आइसकेको अवस्थामा नयाँ सरकार गठनमा भएको ढिलाइ लोकतन्त्र र संविधान अनुकूल नभएको उनले दोहो¥याए । 
मुकाम तोकिएपछि राष्ट्रियसभा निर्वाचनमा सुरक्षा चुनौती थपिए ः प्रमुख आयुक्त
अस्थायी मुकाम तोकिएपछि राष्ट्रियसभा निर्वाचनमा सुरक्षा चुनौती थपिएको निर्वाचन आयोगले ठहर गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रियसभाको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेशको अस्थायी मुकाम तोकिएसँगै राष्ट्रिय सभाको निर्वाचनमा सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन सरकार र राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराए ।
प्रमुख आयुक्त यादवले निर्वाचनमा देखिएको सुरक्षा चुनौतीलाई हल गर्न स्थानीय राजनीतिक दलसँग बलियो सहकार्य गरेर अघि बढन पनि सम्बन्धित निर्वाचन अधिकृतहरुलाई सचेत गराए ।
आयोगले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट ढंगले व्यवस्थापन गर्न सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त यादवले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्न सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।
आयोगले राष्ट्रिय सभाको निर्वाचनको मतगणनालाई सहज बनाउन प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । मतगणना झन्झटिलो भएकाले यसलाई सहज बनाउन कम्प्युटरमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको पनि प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । आयोगले निर्वाचनका लागि आवश्यक निर्देशिका र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको पनि स्पष्ट पारेको छ । माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
निर्वाचनलाई सम्पन्न गर्न आयोगले तयारीको कामलाई तीव्रता दिएको हो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार र राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने विश्वास पनि व्यक्त गरे । निर्वाचन आयोगले निर्वाचनलाई सम्पन्न गर्न सम्बन्धित प्रदेशको उच्च अदालत भएको ठाउँमा राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल तोकिसकेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट