News Category 2074/10/14

बाम गठबन्धन सरकारको बिकल्प छैन ः कमल थापा

दैनिक समाचारदाता


राजविराज÷राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाई भएको बताएका छन् । उनले बाम गठबन्धनलाई यस पटक जनताले जनाधिकार दिएकोले बाम गठबन्धन सरकारको विकल्प नरहेको समेत बताए । 
मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका मन्त्री थापाले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका क्रममा काँग्रेस, एमाले र माओवादीले संवैधानिक जटिलताका बारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन सम्पन्न गराई सरकार निर्माण गर्ने बारे मात्र उनीहरुले सोचेकोले अहिलेको संबैधानिक जटिलता आएको आरोप समेत लगाए । 
उनले अब बन्ने सरकारले मुलुकमा स्थायित्व कायम गर्ने र समग्र आर्थिक विकासका लागि मुलुक अगाडी बढाउने अपेक्षा गरिएको उल्लेख गरे । 
यता मधेश केन्द्रित दल राजनीतिक स्वार्थमा आन्दोलन गरेको र उनीहरुको मुद्दा समेत स्पष्ट नरहेको बताउँदै मन्त्री थापाले प्रादेशीक मुद्दा उठाएर जनतालाई झुक्याई सत्तामा रहन मात्र मधेशी दलले आन्दोलन गरेको आरोप समेत लगाए । 
उनले नेपाली जनतामा अहिले पनि हिन्दु राष्ट्रको अभिमत नघटेको दाबी गर्दै अब सडकबाटै पार्टीले उठाएको एजेण्डालाई स्थापित गर्ने जिकिर गरे । उनले हिन्दु राष्ट्रको एजेण्ड बोकेको राप्रपाले पार्टी विभाजन, निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार खडा गर्न नसक्नु र काँग्रेससँग गरिएको तालमेलमा काँग्रेसले सहयोग नगरेकोले निर्वाचनमा हार व्यहोर्नु परेको बताए । 
यस्तै मन्त्री थापाले आगामी दिनमा राप्रपा रचनात्मक ढंगले मुलुकको राष्ट्रिय राजनीतिमा सक्रियता जनाइरहने बताए । 
उनले प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाको नागरिकता बंशज नै रहेको तर कसैले नागरिकता सम्बन्धमा दाबी बिरोध गरे त्यो अदालतबाट स्पष्ट हुने उल्लेख गरे । यद्दपी उनले प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाका भाई अभय गुरुङसँग फुटवल खेलेको र उनी भारतको दार्जिलिङ निवासी रहेको खुलासा समेत गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट