News Category 2074/10/17

कर्मचारी सहिद यादवको शालिक अनावरण, साकेत अझै सरकारी सहिदको सूचीमा परेनन्, दिलिपलाई सम्झिएन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ माघ । 
सहिद दिवसको अवसरमा मंगलबार राजविराजमा स्थानिय निकाय कर्मचारी सहिद प्रभु नारायण यादवको शालिक अनावरण गरिएको छ । 
जिल्ला समन्वय कार्यालय सप्तरीका अध्यक्ष प्रभावकर यादवले कार्यालयको प्राङ्गनमा निर्माण गरिएको कर्मचारी सहिद यादवको शालिकलाई अनावरण गरे । उनले नवनिर्मित शालिकमा फुलमाला चढाई रिबन काटेर अनावरण गरेका हुन् । 
तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत प्रभु नारायण यादवको २०६४ साल कात्तिक १२ गते बेलुका ७ः३० बजे कार्यालयबाट राजविराज हनुमानगर सडक खण्ड हुँदै घर फर्कने क्रममा खाडो पुलदेखी पूर्व गोली प्रहार गरि हत्या गरिएको थियो । 
उनको हत्या पछि कर्मचारीहरुको निरन्तर आन्दोलन पश्चात् २०६४ साल कात्तिक २७ गते मन्त्रि परिषद्को बैठकले स्थानिय निकाय कर्मचारी शहिद घोषणा गरेको थियो । 
साविकको बभनगामाकी वडा नं. २ हाल तिलाठी कोइलाडी गाउँपालिका ८ निवासी स्व. यादव स्थानिय निकाय कर्मचारी संघ नेपालको पहिलो जिल्ला अध्यक्ष समेत रहेका थिए । 
जिल्ला समन्वय समितिको सहयोगमा ११ लाख रकममा उक्त शालिक निर्माण गरिएको शालिक निर्माण समितिका संयोजक कमलेश्वर बिराजीले जानकारी दिए । 
यसैगरि सहिद दिवसकै अवसरमा मंगलबार साँझ सहिद साकेत चन्द्र मिश्रको शालिकमा मैनवत्ति प्रज्वल गरिएको छ । यद्दपी सरकारीस्तरबाट साकेतलाई अझै सहिद घोषणा गर्न सकेको छैन् । 
सहिद साकेत पार्कमा अवस्थित साकेत चन्द्र मिश्रको शालिकमा प्रदेशसभा सदस्य शैलेन्द्र प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, पार्क संरक्षण समितिका संयोजक सोमेशचन्द्र मिश्र, नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादव, वडा अध्यक्ष समिर झा, वडा सदस्य गंगासागर गुप्तालगायतले फुलमाला अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै मैनवत्ति प्रज्वलन गरेका थिए । 
सोही कार्यक्रममा प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले २०४२ सालको राजदरबार बम काण्डमा तत्कालिन राज्यबाट वेपत्ता पारिएका साकेतको हालसम्म पनि अवस्था अज्ञातै रहेकोमा उनको अवस्था बारे यथासिघ्र सार्वजनिक गर्न राज्यसँग माँग गरे । साकेतसँगै दरबार बम काण्डमा शहिद भएका धनुषाका दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गरिसकेको अवस्थामा साकेतलाई सहिद घोषणा गर्न नसक्नुमा राज्यको गम्भिर त्रृटी भएको आरोप समेत लगाए । 
यस्तै सप्तरीका अर्का सहिद दिलिप चौधरीलाई सहिद दिवसको दिनमा सम्झिएको छैन् । उनी पनि सरकारी सहिदको सूचीमा पर्न सकेका छैनन् । सहिद घोषणा भएका जनकपुरमा दुर्गानन्द झा र सहिद घोषणा हुन बाँकी रहेको सप्तरीका साकेत र दिलिपसँग सँगै तत्कालिन राजदरबार बिरोधी आन्दोलनमा सक्रिय थिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट