News Category 2070/09/03

चिसो बढेपछि सिरक, डस्ना बनाउन धुनिया“हरुलाई भ्याई नभ्याई

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २ पुस । 
एक्कासी चिसो बढेपछि अहिले सप्तरीमा सिरक, डस्ना बनाउन धुनियाँहरुलाई भ्याई नभ्याई भएको छ । 
सप्तरी सदरमुकाम राजविराजमा अहिले धुनियाँहरु दिनमा १० देखी १५ वटा सिरक, डस्ना बनाउन लागिपरेका छन् । सोमबारबाट सुरु भएको चिसोका कारण सप्तरीमा सिरक डस्नाको माग ह्वातै बढेको हो । 
अहिले बजारमा सिरक डस्नाको माँग बढेपछि त्यसमा प्रयोग हुने कपासको मूल्य समेत बढेर गएको छ । सोमा प्रयोग हुने कपासको मूल्य रु. ५५ देखी २२० सम्म पर्ने गरेको छ भने प्रति सिरक बनाउन रु. ५०० सम्म धुनियाँले लिने गरेका छन् । 
यता पुस महिनाको १ गतेबाट सुरु भएको चिसोका कारण सप्तरीको जनजीवन प्रभाबित भएको छ । 
चिसोका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । 
चिसोका कारण सप्तरीको पुर्वी क्षेत्रका भारदहसहित करिब एक दर्जन गाविसबाट दिनहुँ ५० देखी ७५ जना बालबालिकाहरु उपचारका लागि उपस्वास्थ्य चौकी भारदह आउने गरेको उपस्वास्थ्य चौकी प्रमुख धर्मेन्द्र खड्गाले जानकारी दिनुभयो । 
यता सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामिण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको छ । 
दुधे बालक देखि ६० बर्षसम्मका बृद्धबृद्धाहरु रुघा खोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतको प्रकोबाट पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
चिसो बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको संख्या ह्वातै घटेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट