News Category 2070/09/04

श्रीमती र छोराहरुबाट घर निकाला

दैनिक समाचारदाता


नवीनकुमार गुप्ता
राजविराज, ३ पुस । 
पारिवारिक विवादका कारण श्रीमती, सासु, बुहारी घर निकाला गरिएको घटना व्यापक रुपमा सुन्ने र देख्ने गरेका छौं तर सोही विवादका कारण घरका मुखिया भनिने श्रीमान् वा पितालाई नै घर निकाला गरिएको घटना सुन्दा अचम्म लाग्न सक्छ । 
हो, यस्तो घटना भएको छ । यो घटना हालमात्र सार्वजनिक भएको हो । सप्तरीको रायपुर गाविस ८ मा यस्तो घटना भएको हो । रायपुर ८ निवासी ६४ वर्षिय रामप्रसाद साह तेली आफ्नै श्रीमती तथा तीन छोराहरुबाट घर निकाला भएका छन् । त्यो पनि कुनै घरायसी विवादले होइन आर्थिक विवादका कारण ।  
रामप्रसाद आफ्नो छोरीको विवाह गरे पश्चात् ऋणमा डुबेपछि ऋणिहरुको ताकेता सहन नसकि ८ वर्ष अघि भारतको हरियाण कमाउन गएका थिए । उनी हरियाणमा मेशिन अपरेटरको रुपमा सुपरभाइजर पदमा कार्यरत थिए । उनले काम गरे वापत महिनामा ७ देखी ८ हजार भारतीय रुपैयाँ तलब पाउने गर्थे । सोही रुँपैयाबाट जोगाएर प्रत्येक महिनाको ४ देखी ५ हजार रुँपैया घर पनि पठाउने गरेका थिए उनले । घर पठाएका रकमबाट ऋणिहरुको ऋण समेत चुक्ता गरे उनले । 
तर, घरमा जति सुकै रकम पठाउँदा पनि पैसाको कमी नै हुन्थ्यो । रामप्रसादलाई उमेरको हदका कारण हरिणयाामा जागिरबाट हटाइए । तत्पश्चात् उनी गत साउन महिनामा आफ्नो घर रायपुर फर्किए । घर फर्किएपछि उनका श्रीमती लक्ष्मीदेवी साह, छोराहरु आनन्द साह, जितेन्द्र प्रसाद साह र गणेश प्रसाद साहले बारम्बार रकम माग गर्दै कुटपिट समेत गर्न थाले । कुटाइ खाएपछि उनले भारतको हरियाणमा कमाएर पठाएको रकमको हिसाब माग गर्दा श्रीमती र छोराहरुबाट गाली खानुका साथै अपहेलित समेत हुन पुगे ।
सोही क्रममा रामप्रसादलाई घर निकाला समेत गरियो । हाल उनी रुपनीमै एक घरमा डेरा लिएर बसिरहेका छन् । उनले आफ्नो जिवन गुजारा गर्न एउटा ठेलामा व्यापार गर्न रकमको खोजीमा रहेका छन् । पीडित रामप्रसादले आफूले कमाएर ल्याएको ३१ हजार रकम समेत श्रीमती र छोराहरुले नदिएको बुधबार केही संचारकर्मीलाई जानकारी दिएका छन् । 
सोही रकम असुल उपर र आफ्नै परिवारले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय रुपनीमा रामप्रसादले गत असोज महिनामा उजुरी दर्ता समेत गराएका थिए । सो उजुरी उपर इलाका प्रहरी कार्यालयका सई सुरेन्द्र यादवले दुबै पक्षलाई बोलाएर छलफल गर्दा मंसिर मसान्तसम्म ३१ हजार रुँपैया रामप्रसादलाई दिलाउने सहमति समेत गरेको पीडितले जानकारी दिएका छन् । 
तर मंसिर बितिसक्दा समेत उनले हालसम्म रकम नपाएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएपछि सहायक प्रजिअ प्रेम सिंह कुँवरले के, कुन कारणले सहमति भए अनुसार रकम नपाएको कारण पेश गर्न इलाका प्रहरी कार्यालय रुपनीलाई आदेश दिइएको छ । 
यता इलाका प्रहरी कार्यालयका सई सुरेन्द्र यादवसँग प्रतिक्रिया लिँदा रामप्रसादका लागि पहल गरिरहेको जानकारी दिएका छन् । पीडित साहले आफूलाई न्याय दिलाउनका लागि पहल गरिदिन सम्पूर्ण अधिकारीकर्मी, संचारकर्मीसँग आग्रह गर्दै न्याय नपाए आफू इलाका प्रहरी कार्यालय रुपनी अगाडी भोकहड्ताल बस्न पनि पछाडी नपर्ने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट