दैवी प्रकोप उद्दार समितिलाई नगद तथा रबरको बोट प्रदान

Friday, December 27, 2013
दैनिक संवाददाता
राजविराज, ११ पुस । 
कोशी पिडीत समाज सप्तरीले लुथरन विश्व फेडरेसन, नेपालको सहयोगमा जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीलाई बाढी प्रकोप उद्दार सामग्री, रबरको बोट तथा आर्थिक सहयोग प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा कोशी पिडीत समाजकी महासचिव पार्वती जोशी थारुले  जिल्ला दैबी प्रकोप उद्दार समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई बाढी प्रकोपको अवस्थामा खोज तलाश तथा उद्दारका लागि ८ जना बस्न सक्ने क्षमता भएको ५ लाख ८० हजार मुल्य बराबरको रबरको बोट प्रदान गर्नुभयो । 
यस्तै महासचिव जोशीले लाइफ ज्याकेट र जिल्ला आपत्तकालिन कोषको लागि रु. एक लाख नगद समेत दैवी प्रकोप उद्दार समितिलाई प्रदान गर्नुभयो । 
सो कार्यक्रममा लुथरन विश्व फेडरेसन, नेपालका गोपाल दाहाल, यदुलाल श्रेष्ठ, जिल्लास्थित कार्यालय प्रमुखहरु, सञ्चारकर्मी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।