News Category 2075/05/19

सबै थोकमा कर लगाएको “फेसबुके” हल्ला मात्र ः अर्थमन्त्री डा. खतिवडा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ भदौं । 
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सबै थोकमा कर लगाएको भन्ने कुरालाई फेसबुके हल्ला मात्र भएको बताएका छन् । उनले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाएको भनेर फेसबुकमा निराधार हल्ला चलाइएको कुरालाई खण्डन गरेका छन् ।
करदाता सेवा कार्यालय राजविराजको सोमबार उद्घाटन गर्न राजविराज आएका मन्त्री खतिवडाले कर जस्तो गम्भिर विषयमा सरकार आफै सचेत रहेको भन्दै त्यस्ता फेसबुके हल्लामा नलाग्ने सम्पूर्ण उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । 
राष्ट्र बैंकका पूर्व गर्भनर समेत रहेका मन्त्री खतिवडाले प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरु संचालन नै रहनुका कारण ती बैंकहरु संघीय सरकारको केन्द्रीय नीति अनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको विदा नमानेको स्पष्ट समेत पारे ।
यस्ता विषयहरुमा प्रदेश सरकार र संघीय सरकार बसेर छलफल जरुरी रहेको बताउँदै ती विषय पनि चाडै नै निचोड निस्कने उनले आश्वासन दिए ।
गत भदौ १० गते जनैपूर्णिमा र भदौं १७ गते कृष्णाष्टमीको दिन प्रदेश नं. २ सरकारले सार्वजनिक बिदा दिँदा समेत बैंकहरु संचालन नै रहेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला, योजना तथा कानुन मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताला लगाउँदै धर्ना बसेका थिए । 
अर्थ मन्त्री खतिवडाले ८ वर्ष अघि आफू एक निजि बैंकको उद्घाटन गर्न आएको बेला राजविराजमा बैंकहरुको अभाव रहेकोमा अहिले बैंकहरुको संख्या उल्लेखीय भएकोमा व्यवसायी वातावरण सुध्रिदै गएको जिकिर गरे । 
डा खतिवडाले तत्काल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था रहेकोले अब धेरै दिन यस्तो नरहने दाबी समेत गरे । एउटै ठाउँमा कर बुझाए पुग्ने बताउँदै उनले करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने जिकिर गरे । 
विदेशी ऋणबाट देशको विकास सम्भव नभएकाले करको दायरा बढाउनुपर्नेमा बताउँदै मन्त्री खतिवडाले आम्दानी र क्षमताभन्दा बढी कर बढाउन नहुने उल्लेख गरे । कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन नपाइने बताए । 
उनले संविधानमै स्थानीय सरकारलाई वित्तिय श्रोत ब्यवस्थापन र परिचालन गर्न सक्ने अधिकार स्पष्ट उल्लेख भएकाले त्यहि अधिकार प्रयोग गरी स्थानीय सरकारले कर नीतिमा हेरफेर गरेको चर्चा गर्दै त्यस्तो करवाट प्राप्त राजश्वको सदुपयोग हुनुपर्नेमा जोड दिए । 
उनले राज्य संचालन करवाटै हुने हो, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा राज्यले प्रदान गर्ने आधारभुत सेवाहरु नागरिकले तिर्ने करमै निर्भर हुने भएकाले यसमा कुनै कन्जुस्याई नगरी सवैले सहयोग गर्नु पर्ने बताए  । 
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका महानिर्देशक विष्णुप्रसाद नेपाल, अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गाना, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष किशोर प्रधान, प्रदेश सभाषद मनिष सुमन लगायतले पनि वोलेका थिए ।
कार्यक्रममा मन्त्री खतिवडाले करदाता सेवा कार्यालयमा आई पहिलो दिन प्यान नम्बर लिने सेवाग्राही अमृता झा, सुनिता देव र शम्भुनन्द चौधरीलाई प्रमाणपत्र वितरण गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट