News Category 2075/08/18

फेरि त्रिविमा विद्यार्थी बढे

दैनिक समाचारदाता

फेरि त्रिविमा विद्यार्थी बढे

काठमाडौँ, १८ मङ्सिर (रासस) ।
    केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो । 
    त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो । 
    त्रिविमा शैक्षिक सत्र २०६९÷७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र २०७२÷७३ देखि लगातार अहिले विद्यार्थी सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७१÷७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी सङ्ख्या भएकोमा शैक्षिक सत्र २०७२÷७३ मा विद्यार्थी सङ्ख्या तीन लाख ६० हजार २५४ पुगेको छ । 
    मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकि सङ्काय पढ्ने विद्यार्थी बढेको बताउनुभयो । 
    उहाँका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामजिक कार्य, परामर्श मनोविज्ञान, खेलकूद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए), सामाजिक कार्य (विएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् । 
    मानविकी सङ्कायमा अर्थशास्त्र, राजनीतिक शास्त्र, सामाजिक शास्त्र र ग्रामीण विकासमा विद्यार्थीको सङ्ख्या पहिलेकै तुलनामा यथावत भएपनि नेपाली, इतिहास, भाषा विज्ञान जस्ता विषयमा विद्यार्थी सङ्ख्या घटेको डीन भुसालले जानकारी गराउनुभयो । 
    नयाँ नयाँ कार्यक्रमले व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या घटेका छैनन् । व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराम शर्माले सेमेष्टरका कारण स्नातकोत्तर तहमा विद्यार्थी घटे पनि स्नातक तहमा भने बढेको बताउनुभयो । 
    उहाँले पहिल्यैकै तुलनामा विद्यार्थी व्यवस्थापन सङ्कायमा रहेको बताउनुभयो । उहाँले आंगिक क्याम्पसमा नयाँ÷नयाँ कार्यक्रम सञ्चालन भएकोले विद्यार्थी सङ्ख्या स्नातक तहमा बढेको जानकारी गराउनुभयो । 
    यस वर्षदेखि व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा मास्टर अफ माउन्टेरिङ स्टडिज् (एमएमएस), मास्टर इन पुलिस साइन्स (एमपिएस) शुरुवात गर्न थालेको छ भने होटेल म्यानेजमेन्ट, जनप्रशासन, व्यवस्थापन प्रशासन जस्ता विषय पढाइ हुने गरेका छन् । 
    स्नातक तहमा ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम), ब्याचलर अफ माउन्टेरिङ स्टडिज् (विएमएस), ब्याचलर अफ विजनेश म्यानेजमेण्ट (विविएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (विएचएम) जस्ता प्राविधिक विषय पढाइ हुने गरेका छन् ।
    डीन शर्माका अनुसार स्नातकोत्तर तहमा वार्षिक कार्यक्रममा २५ हजार विद्यार्थी हुने गरेकोमा सेमेष्टरका कारण अहिले ८ हजारमात्र विद्यार्थी रहेका छन् । व्यवस्थापन सङ्कायले त्रिवि केन्द्रीय क्याम्पसमा यस वर्षदेखि एमविएमा अर्को सत्र सञ्चालन गर्ने भएको छ । 
    पहिले ३५ विद्यार्थीमात्र पढाउने गरेकोमा अहिले थप अर्को सत्र सञ्चालन गरेर ३५ जनालाई पढाउन थालिएको उहाँले जानकारी गराउनुभयो । शैक्षिक सत्र २०७३÷७४ मा विद्यार्थी सङ्ख्या तीन लाख ६७ हजार ४२७ पुगेको छ । योजना प्रमख पोखरेलले नयाँ नयाँ प्राविधिक विषयले त्रिविमा अहिले विद्यार्थी सङ्ख्या बढ्दै गएको बताउनुभयो । 
    शैक्षिक सत्र २०६८÷६९ मा तीन लाख ७३ हजार ८४६ विद्यार्थी सङ्ख्याबाट शैक्षिक सत्र २०६९÷७० मा झण्डै दुई लाख २५ हजार बढेर ६ लाख चार हजार ४३७ विद्यार्थी पुगेका थिए । त्यसपछि शैक्षिक सत्र २०७०÷७१ मा त्यो सङ्ख्यामा पुनः एक लाख विद्यार्थी घटेका थिए । 
    उक्त शैक्षिक सत्रमा चार लाख पाँच हजार ३४१ विद्यार्थी अध्ययरत रहेका थिए । योजना प्रमुख पोखरेलका अनुसार अहिले २ प्रतिशतका दरले विद्यार्थी सङ्ख्या वृद्धि भएको छ ।
    यसैगरी त्रिविमा महिला विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ । त्रिविको पछिल्लो तथ्याङ्क अनुसार महिला विद्यार्थीको सङ्ख्यामा ३४ प्रतिशत वृद्धि भएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट