News Category 2076/02/12

स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म

दैनिक समाचारदाता

स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म

    भारतमा नरेन्द्र मोदी सरकारकी मन्त्री स्मृति इरानीले अमेठीको नेहरू–गान्धी परिवारको अभेद्य किल्लामा भारतीय जनता पार्टीको झन्डा गाडिदिएकी छन् ।
    काँग्रेस पार्टीको वर्चस्व रहँदै आएको सो निर्वाचन क्षेत्रमा उनले सो दलका अध्यक्ष राहुल गान्धीलाई पराजित गरिदिएकी छन् ।
    राहुल गान्धी त्यहाँबाट तीन पटक सांसद बनेका थिए । त्योभन्दा पहिले सो क्षेत्रबाट उनकी आमा सोनिया गान्धीले जितेकी थिइन् ।
    त्योभन्दा पनि पहिलादेखि नै उत्तर प्रदेशको यो निर्वाचन क्षेत्रमा गान्धी परिवारका हस्तीहरूले जित्दै आएका छन् ।
    सञ्जय गान्धी र पूर्वप्रधानमन्त्री राजीव गान्धीले यो क्षेत्रलाई गान्धी परिवारको गढको रूपमा स्थापित गरेका थिए । राजीव गान्धी यहाँबाटै तीन पटक चुनिए । तर, आफ्नो दोस्रो प्रयासमा स्मृति इरानीले गान्धी परिवारको यो गढ कब्जा गर्न सफल भइन् ।
निर्वाचन अभियान
    निर्वाचनअघि स्मृति इरानीले अमेठीको एक ठाउँमा आगलागी भएको बेला त्यसलाई निभाउन कार्यकर्ताहरूलाई दिएको आदेश, पानीका लागि आफैँ धारा चलाइरहेको र अवधीभाषी वृद्धाहरूलाई सम्झाइरहेको दृश्य राष्ट्रिय टेलिभिजनहरूमा प्रसारित भएका थिए ।
    त्यसबाट यसपालि उनले सन् २०१४ को तुलनामा अमेठीमा राम्रो प्रदर्शन गर्ने आकलन गरिएको थियो । तर, उनले राहुल गान्धीलाई हराइदिन्छिन् भनेर चाहिँ कमैले ठानेका थिए ।
    स्मृति इरानी सन् २०१४ मा बनेको नरेन्द्र मोदीको सरकारमा पहिले मानव संसाधनमन्त्री भएकी थिइन् । पछि उनी सूचना प्रसारणमन्त्री र त्यसपछि कपडामन्त्री भइन् । मानव संसाधनमन्त्री हुँदा आफ्नो शैक्षिक योग्यताबारे उनले गरेको टिप्पणी निकै विवादस्पद भयो ।
    तर पनि उनी मोदी मन्त्रिमण्डलमा सुषमा स्वराज तथा निर्मला सीतारमणका साथ एक प्रभावशाली महिला मन्त्री बनिरहिन् ।
मोदीविरुद्ध अनशन प्रकरण के हो ?
    चर्चित टेलिभिजन सिरियल ’क्योँकि सास भी कभी बहु थी’ मार्फत् घरघरमा चिनिएकी उनले सन् २००३ मा भाजपामा सामेल भई सक्रिय राजनीति थालेकी थिइन् ।
    तर कमै मानिसलाई थाहा होला कि उनले कुनै बेला नरेन्द्र मोदीविरुद्ध अनशन बस्न आह्वान गरेकी थिइन् ।
मोदी र ट्रम्पबीच यस्ता समानता छन्
    सन् २००४ मा उनी भरखरै भाजपामा प्रवेश गरेकी थिइन् र पार्टीको टिकटमा दिल्लीको चाँदनी चोक लोकसभा सीटको चुनावमा हारेकी थिइन् ।
    त्यतिबेला उनले गुजरात दङ्गाको विषयमा तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्दै अनशन बस्ने चेतावनी दिइन् ।
    तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको नाम कैयौँ पटक लिँदै उनले नरेन्द्र मोदीले राजीनामा नगरेका कारण वाजपेयी हैरान भएको बताएकी थिइन् ।
    तर पछि पार्टीको उच्च नेतृत्वले कारबाही गर्ने चेतावनी दिएपछि उनले आफ्नो भनाइ फिर्ता लिइन् ।
वाक्पटुताको प्रयोग
    भाजपा राजनीतिका पुराना जानकारहरू भन्छन् कि स्मृति इरानीलाई राजनीतिमा ल्याउने श्रेय प्रमोद महाजनलाई जान्छ ।
    सन् २००६ मा महाजनको हत्या भएपश्चात् स्मृतिको राजनीतिक यात्राको गति केही कम भयो । केही समयसम्म उनी पार्टीभित्र मौनतापूर्वक काम गरिरहिन् र सँगसँगै वाक्पटुताका कारण भिन्न परिचय बनाउँदै गइन् ।
    सन् २०१० मा नितिन गडकरी भाजपाका राष्ट्रिय अध्यक्ष बनेपछि स्मृतिलाई पार्टीको महिला मोर्चाको जिम्मेवारी दिइयो ।
    अर्को वर्ष उनी गुजरातबाट राज्यसभामा सांसद चुनिइन् र प्रदेशको राजनीतिमा सक्रिय भइन् । त्यतिबेलादेखि नै हो स्मृति तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको प्रशंसक बन्न थालेको ।
    प्रखर रूपमा बोल्न सक्ने कौशलका कारण उनलाई पार्टीको राष्ट्रिय प्रवक्ता बनाइयो। टेलिभिजन च्यानलहरूमा बोल्न थालेपछि उनी फेरि चर्चित हुन थालिन् ।
अमेठीको लडाइँ
    सन् २०१४ को संसदीय निर्वाचनमा भाजपाले उनलाई राहुल गान्धीविरुद्ध लड्न अमेठीबाट टिकट दियो । त्यतिखेर उक्त निर्वाचन क्षेत्रमा तत्कालीन आम आदमी पार्टीका नेता तथा कवि कुमार विश्वास पनि उठेका थिए ।
    सन् २००९ को चुनावमा अमेठीबाट भाजपालाई केवल साढे ३७ हजार मत आएको थियो । त्यतिखेर स्मृतिले चुनाव प्रचार गर्दा गान्धी परिवारको क्षेत्र भए पनि त्यहाँ “१० वर्षदेखि केही नभएको“ भन्ने गर्थिन् ।
    स्थानीय महिलाका साथ निकै घुलमिल पनि भइन् । तीन लाखभन्दा धेरै भोट प्राप्त भए पनि उनी राहुल गान्धीसँग एक लाख जति भोटको अन्तरले पराजित भइन् ।
विवाद नै विवाद
    निर्वाचनमा पराजित भए पनि उनलाई केन्द्र सरकारमा मन्त्री बनाइयो । त्यसलगत्तै उनको शैक्षिक योग्यताबारे विवाद भयो । निर्वाचनमा नामाङ्कन गर्दा दर्ता रेको पत्रमा मिथ्या जानकारी दिएको आरोप लाग्यो ।
    अर्को विवाद तब भयो जब हैदरावादको विश्वविद्यालयका एक दलित विद्यार्थी रोहित वेमुलाले आत्महत्या गरे ।
    उनको मन्त्रालयले अर्का एक मन्त्रीले आरएसएसको विद्यार्थी सङ्गठनका एक नेतालाई कुटपिट भएको भनी गरेको गुनासोपछि विश्वविद्यालयलाई कारबाही गर्न निर्देशन दियो ।
    त्यसपछि विश्वविद्यालयले पाँच दलित विद्यार्थीलाई निष्कासन गरिदियो र तिनलाई छात्रावासबाट पनि निष्कासन गरिदियो । सो घटनापश्चात् रोहित वेमुलाले आत्महत्या गरे ।
    सो घटनालाई लिएर विपक्षीले स्मृतिको निकै विरोध गरेका थिए । जब स्मृति इरानी सूचना प्रसारण मन्त्रीमा नियुक्त भइन् तब पनि विवादले उनको पिछा छाडेन । पद सम्हाले लगत्तै उनले मन्त्रालयका तीन दर्जनभन्दा धेरै अधिकारीहरूको सरुवा गरिन् । ती मध्ये केही त थोरै समयपश्चात् अवकाश पाउन लागेका समेत थिए ।
    यो विवाद चर्किएपछि इरानीले गलत रिपोर्टिङ गर्ने पत्रकारलाई सजाय दिने गरि सर्कुलर जारी गर्दिन् । पत्रकारहरूले विरोध गरेपछि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप गरेर सर्कुलर फिर्ता भयो ।
    यति धेरै विवाद हुँदा पनि पनि स्मृति राजनीतिको मैदानमा डटिरहिन् । सम्भवतः उनलाई लागेको थियो कि राजनीतिमा अमेठी उनको निम्ति सफलताको बलियो खुड्किलो हुन सक्छ । बिबिसीबाट

प्रतिकृया दिनुहोस

ताजा अपडेट