News Category 2070/11/28

जिउ“दै जलाइएकी गर्भवती नजराना हत्या प्रकरण किटानी जाहेरीको आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, २७ फागुन । 
अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार जिउँदै जलाइएकी नजरानाको हत्या भएको प्रमाणहरु सप्तरी प्रहरीले फेला परेको जनाएको छ । मृतक नजरानाकी बुवा फुलहुसैन खानले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी जाहेरी र घटनास्थलको स्थितीलाई मध्यनजर गर्दै प्रहरीले थालेको अनुसन्धानको क्रममा नजरानाको हत्या भएको हुनसक्ने प्रमाणहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
सोमबार मात्रै मृतक नजरानाकी बुवा सुनसरी मधुबन ८ निवासी फुलहुसैन खानले सम्धीनी बानो खातुन र मृतककी जेठानी नुरजहाँ खातुनमाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको हो । सप्तरी प्रहरी सोमबारै खानको किटानी जाहेरी दर्ता गरी कर्तब्य ज्यान मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाईसकेको मुद्दा हेर्ने प्रहरी निरीक्षक खेमनारायण चौधरीले जानकारी दिनुभयो ।
मृतक राजविराज ७ निवासी नजराना खातुन पाँच महिनाको गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ । उनको एक २० महिने छोरी समेत रहेको छ । नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघि बैदेशिक रोजगारका लागि साउदी अरब जानुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले प्रारम्भिक चरणमा नजरानाकी सासु बानो खातुन र जेठानी नुरजहा खातुनको घटनामा संलग्नता रहेको पाइए पनि थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । उहाँले घटनास्थलदेखि करिब ५० मिटरको दूरीमा रहेको पोखरीको डिलमा मट्टीतेलको भाँडो बरामद हुनु, छिमेकीको घरमा लुकेर बसेकी सासु बानो र जेठानीको शरीरबाट मट्टीतेलको गन्ध आउनु लगायत प्रमाणहरु फेला परेको आधारमा नजरानाको हत्या भएको भनि पुष्टि गर्न थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
सासु बानो खातुन र जेठानी नुरजहाँ खातुनसँग नजरानाको घरायसी बिषयमा पटक पटक झगडा हुँदै आएकोले उक्त घटनामा उनीहरुकै संलग्नता हुन सक्ने स्थानीयहरुको भनाई छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार भईरहेको बखत आफुसित नजरानाको अन्तिम कुराकानी भएको बताउने छिमेकी रैहाना खातुनले भनिन्, ‘सासु र जेठानी मिलेर आगो लगाई दिए, म त मर्दिन नि ?, मेरो मृत्यु भएपछि छोरी रौनकको के हुने भन्दै रोइरहेकी थिईन् ।’
यसैबीच मंगलबार राष्ट्रिय मानवअधिकार आयोग जनकपुरबाट बुद्धनारायण साहको नेतृत्वमा आएको टोलीले स्थलगत निरीक्षण गरि घटनबारे जानकारी लिएको छ । सो टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा गएर फेला परेको विभिन्न प्रमाण तथा घटनाबारे जानकारी लिएको प्रहरी नायब उपरीक्षक बैदबारले बताउनुभयो ।  
यसैगरि संबिधानसभा सदस्य रञ्जु ठाकुरले नजराना खातुनको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कार्वाही गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
आफ्नै घरमा सुतिरहेकी गर्भवती नजराना खातुनलाई मट्टीतेल छर्केर आगो लगाई हत्या गरिएको सम्बन्धमा बुझन् मंगलवार घटनास्थल पुग्नुभएकी सभासद् ठाकुर स्थानियहरुसँग कुरा गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । 
आफुहरुले गत शनिवार काठमाण्डौमा अन्तराष्ट्रिय नारी दिवस मनाईरहदाँ दुख घटना भएको सुनेर असाध्यै दुःखित भएको बताउँदै सभासद् ठाकुरले घटनाको यर्थाथ र पीडितको समस्या बुझ्न आफु यहाँ आएको बताउनुभयो ।
घटनाको अनुसन्धानमा रहेको प्रहरीले घटनामा संलग्न रहेको नजरानाका सासु र जेठानीलाई पक्राउ गरेको र घटनासँग सम्बन्धित महत्वपुर्ण प्रमाणहरु फेला पारिसकेको आफुले प्रहरी प्रमुखबाट थाहा पाएको सभासद् ठाकुरको भनाई थियो । 
सो क्रममा स्थानियहरुले नजरानाको हत्या गर्नेहरुमाथि कार्वाही गर्नुपर्ने माग गरेका थिए । मट्टीतेल छर्केर शनिवार दिउँसो आगो लगाएकी राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमति २६ बर्षीया नजराना खातुनको शनिवारै राती ११ बजेतिर उपचारको क्रममा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
शनिबार दिउँसो २ बजेतिर घरमा सुतिरहेका बेला अचानक शरीरमा आगजनी भएपछि चिच्याएको आवाज सुनेका स्थानियहरुको प्रयासमा नजराना खातुनलाई उद्दार गरेर उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । 
आगजनीबाट ९० प्रतिशत शरीर जलिसकेका नजरानालाई प्रारम्भिक उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो । शनिबारै उनलाई थपउपचारका लागि धरान पठाइएको थियो । 
यसैबीच सो घटनाको सप्तरी सामुदायिक बिकास केन्द्र नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले सोमवार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य अनुसन्धान गरी घटनामा संलग्नहरुलाई कडा सजायको माग गरेको छ भने अनेमसंघ क्रन्तिकारीकी मिथिला राज्य समिति संयोजक रुवी कर्णले विज्ञप्ती जारी गरी अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले मट्टीतेल खन्याई आगो लगाएर गर्भवती नजरानाको हत्या गरेको घटनाले स्तब्ध बनाएको जनाएको छ । 
यस्तै नारी दिवसका दिन शनिवार दिउँसो राजविराज नगरपालिका ७ निवासी नजराना खातुनको जिउँदै जलाएर हत्या गरेको भन्दै हुपेक सप्तरी, एकल महिला समुह, परालिगल समिति, क्रियाशिल महिला पत्रकार समुह, माडवारी महिला मञ्च, पुनराबेदन वार इकाई महिला केन्द्र, जिल्ला वार इकाई राजविराज, स्वंमसेविका संघ, मैथिल महिला परिषद्, दहेज मुक्त मिथिला, सुरक्षा दबाब समुह, सेफ हाउस, संबिधान सुचना केन्द्र र महिला हिंसा बिरुद्धको संजाल सप्तरीले आईतवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरि घटनाको भत्र्सना गरेका हुन् । 
आफ्नै घरमा सुतिरहेका बेला मट्टीतेल खन्याएर आगो लगाई मरणासन्न पारेको र उपचारको क्रममा मृत्यु भएको घटनाले आफुहरुलाई दुखित बनाएको भन्दै बिज्ञप्तीमा घटनामा संलग्नहरुलाई हदैसम्मको सजाय गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट