News Category 2071/02/14

विद्युत आपूर्ति नहु“दा अन्धकारमा बस्न बाध्य

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १३ जेठ । 
राजविराज नगरपालिकाको वडा नम्बर २ स्थित रहेको नेपाल विद्युत प्राधिकरणको पडकिएको ट्रान्सफर्मर मर्मत नहुँदा दुई सातादेखि त्यसक्षेत्रका बासिन्दा अन्ध्यारोमै बस्न बाध्य बनेका छन् । गत जेठ ४ गते बेलुका उक्त ट्रान्सफर्मर पडिकएको थियो । 
ट्रान्सफर्मर पडकिएको बारे प्राधिकरणको राजविराजस्थित वितरण केन्द्रमा जानकारी दिएपनि हालसम्म मर्मत नहुँदा आफुहरु अन्ध्यारोमै बस्न बाध्य हुनुपरेको स्थानीय परमेश्वर झाले गुनासो गर्नुभयो ।
प्राधिकरणले उक्त क्षेत्रमा क्षमता भन्दा कमजोर ट्रान्सफर्म जडान गरेकाले पटक–पटक पडकिएर समस्या उत्पन्न हुने गरेको सेवाग्राहीको भनाई छ । नगरको दुई नम्बर वडास्थित विभिन्न आधा दर्जन टोलमा झण्डै सातसय सेवाग्राही छन् । ‘वर्षमै दुई पटक ट्रान्सफर्मर पडकिएको छ’, स्थानीय रामकुमारी चौधरीले भन्नुभयो, ‘प्राधिकरणको कमजोरीले पटक–पटक ट्रान्सफर्मर पडकिने गरेको छ, यसले सरकारी रकमकोसमेत दुरुपयोग भईरहेको छ ।’
प्रचण्ड गर्मीको बेला लगातार विद्युत आपूर्ति ठप्प हुँदा बालबालिकादेखि वृद्धवृद्धालाई प्रभावित बनाईरहेको छ । विद्युत नभएर पंखासमेत चल्ने नभएकालेले रातीको समय बिताउन बढी नै समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ । उक्त क्षेत्रमा लगाइएको ५० केभीको ट्रान्सफर्मले क्षमता नलिने भएकाले कम्तीमा एकसय केभीको नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने उनीहरुको माग छ ।
यता प्राधिकरणको राजविराजस्थित वितरण केन्द्रले भने पडकिएको ट्रान्सफर्मर मर्मत गराउन पठाईएको र अझ दुई साता लाग्ने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट