News Category 2077/11/08

मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा

दैनिक समाचारदाता

मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा

सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
अजय कुमार झा
    मानिसले आफ्नो मन, भाव, ईच्छा, विचारको कुरा अरूमा प्रकट गर्न चाहन्छ भने उसले भाषाको सहारा लिनुपर्छ । बोलेर, लेखेर वा इसारा नै गर्दा पनि ऊ भाषाकै दायराभित्र रहनुपर्छ, नरहे उसको अभिव्यक्ति काम लाग्ने हुँदैन । संसारमा अहिले ६ हजार पाँच सय जति भाषा बोलिन्छन् । कति भाषा हराए वा लोप भए भनी भन्न सकिन्न तर अहिले पनि सयौं भाषा लोपोन्मुख अवस्थामा छन् । वर्तमान नेपालमा बोलिने भाषाको संख्या १२५ वटा रहेको मानिएको छ । केही भाषा लोप भइसके भने कतिपय भाषा लोप हुने अवस्थामा छ । नेपालमा नेपाली भाषाको अवस्था जाज्वल्यमान छ, केही भाषाले आफ्नो खुट्टा जमाउन कसरत गरिरहेका छन् भने केहीको नाजुक र केही त लोप हुने खतरासँग जुधिरहेका अवस्था छ ।
    भाषा विचार अभिव्यक्तिको सबैभन्दा भरपर्दो माध्यम हो । साथै सामाजिक–सांस्कृतिक पहिचान निर्माणको माध्यम पनि हो । भाषा बिना, मानिस पूर्ण रूपमा अपूर्ण र आफ्नो इतिहास र परम्पराभन्दा पृथक रहन्छ । संसारका सबै चीजहरू झैं भाषा पनि मानवको आदिम राज्यको सुषुप्त ध्वनिदेखि नै समान रूपले प्रगति गर्दै आएको छ । यस्तो विकास प्रक्रियाको कारण भाषाहरूमा सधैं परिवर्तन भइरहेको हुन्छ । परिवर्तनको प्रक्रियामा उध्र्वगामी भाषाहरू फैलिँदै जान्छन् र एक दिन आफ्नो साम्राज्यसम्म कायम गरी छोड्छ तर अधोगामी भाषाहरू संकुचित हुँदै जान्छन् र एक दिन संसारबाटै सम्झिन पनि नसकिने गरी विलुप्त हुन्छन् । भारत वर्षका भाषाहरूमा संस्कृत र प्राकृत भाषाहरू आर्यहरूको वैदिक भाषाबाट विकसित भएका हुन् भने प्राकृतबाट अपभ्रंश र अपभ्रंशबाट आधुनिक भाषाहरू विकसित भएका हुन् ।
    मानिसले प्रयोग गर्ने भाषाको मुख्य आधार बोली हो वा भनौं बोलीहरूको समूह नै समष्टिमा भाषाको रूप ग्रहण गर्दछ । बोली भनेको बोल्दाखेरि ध्वनित हुने शब्द मात्र होइन, बल्कि लेख्दाखेरि प्रयोग हुने शब्द पनि हो । बोलीको मुहान नाद हो । नादबाट उत्सर्जित हुने ऊर्जा कण्ठमा आइपुग्दा ध्वनीको रूप लिँदै मुखमा आएर जिब्रो, तालु, ओठ आदिको संसर्गबाट बोलीको रूप लिन्छ । बोलीलाई अर्थपूर्ण बनाउने काम भने भाषाले र त्यसलाई सुसंस्कृत गर्ने बनाउने काम व्याकरणादिले गर्दछ ।
    सबै मानिसका लागि, सुरुसुरुमा बोलिने भाषा एकमात्र रहेको हुन्छ र पछि पछि बोलिने भाषाको संख्या सिक्दै जाँदै अनेक हुँदै जान्छ । यस प्रकारले कुनै पनि मानिसले प्रयोग गर्ने भाषाको प्रकार भने विभिन्न प्रकार बन्न गएको हुन्छ । सामान्यतया मानिसको प्रयोगमा आउने भाषाहरूमा मातृभाषा, सम्पर्क भाषा, राष्ट्रिय भाषा, सरकारी कामकाजको भाषा, अन्तर्राष्ट्रिय भाषा, विदेशी भाषा आदि । मानिसहरूले आफ्नो परिवारमा प्राय: मातृभाषाको प्रयोग गर्दछन् तर कुनै कुनै परिवारले आफ्नो सामाजिकस्तर उँचो भएको देखाउन वा आफ्नो बडप्पन प्रदर्शन गर्न वा सामाजिक परिवेशका कारणले पनि सिंगो परिवारले नै अर्को भाषाको प्रयोग गर्ने वा बालबच्चाहरूलाई अर्को भाषा प्रयोग गर्न उत्प्रेरित गरिरहेका देखिन्छन् ।
    नेपालको संविधानले राष्ट्रभाषा र सरकारी कामकाजको भाषा गरी दुई प्रकारको भाषा भनी उल्लेख गरेको छ, जसमा राष्ट्रभाषा भन्दै गर्दा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनी भनिएको देखिन्छ । यसैगरी सरकारी कामकाजको भाषाको हकमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने संवैधानिक व्यवस्था छ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था छ । त्यस्तै भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकअन्तर्गत प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने र आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने संवैधानिक हक प्रदान गरिएको छ ।
    संविधानले राज्यले बहुभाषिक नीति अवलम्बन गर्दै विभिन्न भाषाहरूको बीचमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने गरी राज्यलाई निर्देशित गरेको छ । संविधानले नेपालभित्रका भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गरी यसको संवर्द्धन, विकास गर्न र सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार तयार गरी सिफारिस गर्न भाषा आयोग गठन गर्ने व्यवस्था गरेको छ । भाषा आयोगको स्थापना भए पनि आयोगले सिफारिश गरी नसक्दाका कारणले पनि नेपालको मातृभाषा, सरकारी कामकाजको भाषा र बहुभाषिक नीति यतिबेला राष्ट्रिय बहसको विषय रही आएको छ ।
    मानिसले जीवनमा सिक्ने पहिलो भाषा उसको मातृभाषा हो । शैशवास्थामा हुर्कंदै सिकिने एकमात्र भाषा मातृभाषा हो । यसलाई आमाको काखमा सिकिने भाषा पनि भनिन्छ । आमाको आंचरमा पल्लवित भएको भाषाले बालकलाई उसको मानसिक विकासमा शब्द वा पहिलो सम्प्रेषण दिने गर्दछ । मातृभाषाले नै सबैभन्दा पहिले मानिसलाई सोच्ने–बुझ्ने र व्यवहार गर्ने अनौपचारिक शिक्षा र समझ प्रदान गर्दछ ।
    मातृभाषाको सन्दर्भमा केही विद्वानहरूको मान्यता छ कि आमाको भाषा नै मातृभाषा हो । तर यो पूर्ण सत्य भने होइन, आमाको भाषाका साथै बच्चाको शैशव र बाल्यकाल जहाँ व्यतीत हुन्छ, त्यस माहौलमा नै जननी भाव हुन्छ । जुन परिवेशमा बच्चा पालित–पोषित हुन्छ, त्यहाँ जुन भाषा ऊ सिक्दछ, त्यो भाषा त्यस बच्चाको मातृभाषा कहलाउँछ । यहाँ परिवेशको अर्थ परिवार एवं त्यस परिवारको सांस्कृतिक मूल्यसँग रहेको सम्झनु पर्छ ।
    मातृभाषा नहुने वा नभएको मानिस हुन सक्दैन । कुनै पनि भाषाको आफ्नै महत्व हुने भए पनि मानिसको जीवनमा मातृभाषाको जुन भूमिका हुन्छ, त्यसको तुलना अन्य कुनै भाषासँग गर्न सकिँदैन । मानिसले सपनामा पनि मातृभाषामै कुराकानी गरेका हुन्छन् । अचाक्ली परी ब्युँझदा हुने चित्कार पनि मातृभाषामै रहेको हुन्छ । यसको अर्थ मातृभाषा मानिसको कति नजिक रहेछ भन्ने हो । मातृभाषाले व्यक्तिको वैयक्तिक तथा सामाजिक पहिचान स्थापित गर्दछ । युनेस्कोका अनुसार भाषा केवल सम्पर्क, शिक्षा वा विकासका माध्यम नभएर व्यक्तिको विशिष्ट पहिचान पनि हो । मातृभाषाको महत्वको सन्दर्भमा यूनेस्को के भन्दछ भने मातृभाषा ज्ञान, शान्ति, अधिकार, समावेशीकरण एवं विविधता हेतु आवश्यक छ । हरेक भाषा आफूसँग एक यस्तो विशिष्ट ज्ञान परम्पराको संवहन गर्दछ र राष्ट्रहरूको विकास प्रक्रियामा सहायक बनेर शान्तिलाई बढ़ावा दिने कार्य गर्दछ ।
    बालकको प्राथमिक शिक्षा मातृभाषामा नै गराउनुपर्छ । मातृभाषाले नागरिकलाई शिक्षा आदि मूलभूत अधिकार प्रदान गर्दछ र यसले समाजका सबै वर्गको समावेशीकरण सुनिश्चित गर्दछ । यस प्रकार समाजका सांस्कृतिक मूल्यको विरासतको संरक्षण गर्ने कार्य पनि मातृभाषाले नै गर्दछ । अविकसित देशहरूमा भाषाप्रति अनेक प्रकारका भ्रम फैलिएका हुन्छन्, जसमा एक अत्यन्त महत्वपूर्ण भ्रम यो हुन्छ कि अमुक भाषा विकासको भाषा हो । अमुक भाषाबिना काम चल्दैन । जस्तै वैदेशिक रोजगारमा जाँदा त्यस देशको भाषा महत्वपूर्ण मानिन्छ, त्यस्तै आफ्नै देशमा पनि अमुक भाषा नसिकी केही पनि हुन्न भन्ने भ्रम फैलाइन्छ । जबकि यूनेस्कोसहित अनेक संस्थानहरूको अनुसन्धानहरूले यो सिद्ध गरेका छन् कि मातृभाषामा शिक्षाले नै सही मानेमा विकास हुन सक्छ । मातृभाषामा शिक्षा दिइनु पूर्ण रूपले वैज्ञानिक दृष्टिकोण हो । यो मतलाई शिक्षासँग सम्बन्धित सबै पक्षले स्वीकारेका छन् । भारतीय वैज्ञानिक सीवी श्रीनाथ शास्त्रीका अनुसार अंग्रेजी माध्यमबाट इन्जिनियरिंगको शिक्षा प्राप्त गर्नेको तुलनामा भारतीय भाषाको माध्यमबाट पढेका विद्यार्थी कतै बढी उत्तम वैज्ञानिक अनुसन्धान गर्न सक्दछन् । मातृभाषा मानिसको संस्कारहरूको संवाहक हो । मातृभाषाबिना कुनै पनि देशको संस्कृतिको कल्पना पनि गर्न सकिन्न । मातृभाषाले मानिसलाई राष्ट्रियतासँग जोड्दछ र राष्ट्रप्रेमको भावना उत्प्रेरित गर्दछ । मातृभाषा मानिसको आत्माको आवाज हो । मातृभाषाले देशलाई मालाको थुंगा झैं जोड्ने कार्य गर्दछ ।
    सन् १९५२ को २१ फरबरीका दिन बांग्लादेश (तत्कालीन पूर्वी पाकिस्तान) का ढाका विश्वविद्यालय, जगन्नाथ विश्वविद्यालय तथा चिकित्सा महाविद्यालयका विद्यार्थीहरूले बांग्लालाई राष्ट्रिय भाषा घोषित गरियोस् भन्ने माग राखी आन्दोलन गरे । त्यसमा अनेक विद्यार्थी पुलिसको गोलीको सिकार भएर आफ्नो मातृभाषाका लागि प्राण न्यौछावर गरे । मातृभाषाको लागि दिइएको यसै बलिदानको स्मृतिमा युनेस्कोले वर्ष १९९९ मा यसै दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मनाउन प्रारम्भ गर्यो, जसलाई संयुक्त राष्ट्रले २००८ मा स्वीकृति प्रदान गर्यो ।
    भाषिक साम्राज्यवादले संसारमा धेरै नै भाषाहरूलाई निल्ने काम गरेको छ । अष्ट्रेलिया र अमेरिकाका मूल बासिन्दाको भाषा र संस्कृतिलाई भाषिक साम्राज्यवादको सिकार भएर पूर्ण रूपले समाप्त भइसकेको अवस्था छ । भाषिक साम्राज्यवादले त्यस स्थितिलाई जनाउँछ जहाँ एक कडा राष्ट्रको भाषाले कमजोर देशको शिक्षा र शासन जस्ता विविध क्षेत्रबाट मातृभाषा (हरू) लाई हटाउँछ । यसका लागि घोषणा गरिएको वा घोषणा नगरिएकोले यस्तो प्रणाली बनाएर जरा गाड्न अनुमति दिइन्छ जसमा बोल्ने र विदेशी भाषा बोल्ने मानिसहरूलाई दोस्रो वर्गका नागरिकहरू जस्तो बन्न बाध्य पारिएको हुन्छ । भाषिक साम्राज्यवाद भनेको एक देशको भाषा अर्को देशमाथि लादिने अवस्था मात्र होइन, अपितु कुनै देशभित्रै पनि एउटा खास भाषाले अन्य भाषामाथि प्रभुत्व जमाएको हुन्छ अथवा थिचोमिचोमा पारेको हुन्छ भन्ने अवस्था पनि हो ।
    अन्तर्राष्ट्रिय मातृभाषा दिवस प्रादुर्भावको अन्तर्कथाभित्र पनि यस्तै भाषिक साम्राज्यवाद र त्यसको प्रतिरोधको घटना रहेको पाइन्छ । बेलायती उपनिवेशसँगै भारतमाथि अंग्रेजी भाषाको साम्राज्यको स्थापना पनि भएको थियो । दोस्रो विश्वयुद्धपछि बेलायतले भारतमाथिको आफ्नो शासन हटाउँदै गर्दा भारतलाई भारत र पाकिस्तानको रूपमा दुई टुक्रा पार्ने काम पनि गर्यो । धार्मिक जनसंख्याको बहुलताको आधारमा टुक्रिएको पाकिस्तानको दुई हिस्सा अर्थात पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तानबीचको दूरी हजारौं किलोमिटर रहेको थियो । पश्चिमी पाकिस्तान वर्तमान पाकिस्तान हो भने पूर्वी पाकिस्तान आजको बांग्लादेश हो, जो सन् १९७१ मा टुक्रिएको थियो । संस्थापन पाकिस्तानबाट बांग्लादेश टुक्रिनुको कारण भाषिक स्वतन्त्रताको आन्दोलन नै हो । पाकिस्तानले उर्दू भाषालाई राजभाषा मानेको थियो, जसको कुनै संस्कृति थिएन । तर बंगाली भाषाको आफ्नै संस्कृति थियो, जसले उर्दूलाई मालिक मान्न तयार थिएन र स्वतन्त्रताको पक्षमा थियो । यसै भाषिक स्वतन्त्रताको चाहनाले एक दिन उसले राष्ट्रिय स्वतन्त्रतासमेत प्राप्त गर्यो ।
    विश्वका धेरै विकसित र विकासशील देशहरू मातृभाषाको प्रयोगलाई सशक्त बनाएको कारणले प्रगतिको उचाइँलाई छोइरहेका छन् । यस अर्थमा जापान हाम्रो अगाडि आदर्श उदाहरण हो । जापान विश्व बजारमा आर्थिक र औद्योगिक शक्तिको रूपमा रहेको छ र यो हैसियत उसले आफ्नो मातृभाषाको प्रयोगकै कारणले प्राप्त गरेको हो । अर्कोतर्फ हामी चीनको उदाहरण पनि लिन सक्छौं जुन विश्वमञ्चमा एक सुपर शक्तिको रूपमा देखा परेको छ । यदि हामीले उसको विकासको इतिहासलाई पनि हेर्यौं भने उसको मातृभाषाको उल्लेखनीय योगदान रहेको देखिन्छ । भारत पनि प्रगतिको चरम विन्दुमा पुग्न खोजिरहेको छ । आज विश्वव्यापी दौडमा भारत धेरै पछाडि छैन । त्यहाँको विकास पनि भाषिक चेतना र मातृभाषाको उत्थानको कारणले सम्भव भएको हो ।
    मातृभाषा केवल ज्ञान प्राप्तिको विषय होइन, बल्कि मानवअधिकारको संरक्षण, सुशासन, शान्ति–निर्माण, सामञ्जस्य र सतत विकासको लागि एक आधारभूत आवश्यकता पनि हो । यसै प्रकार सामाजिक, आर्थिक एवं राजनीतिक विकास, शान्तिपूर्ण सह–अस्तित्व र सामाजिक, क्षेत्रीय, सामुदायिक सामञ्जस्यको लागि स्वदेशी भाषाहरू महत्त्वपूर्ण हुन्छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । यी राष्ट्रिय विविधतामा हाम्रो विश्वास छ तर यसको बावजूद हामी आफूलाई विशेष रूपले भाषा तथा बोलीहरूको सन्दर्भमा उसको संवद्र्धन गर्ने कार्यमा सक्षम देखिइरहेका छैनौं । यसै कारणले पनि संयुक्त राष्ट्रले सन् २०१९ लाई स्वदेशी भाषाहरूको वर्ष घोषित गर्यो । ताकि स्वदेशी भाषाहरू अर्थात् मातृभाषाहरूलाई संरक्षित तथा पुनर्जीवित गर्न र तिनीहरूको विकासमा बढ़ावा दिन तत्काल कामकाजलाई प्रोत्साहित गर्न सकियोस् ।
    हरेक जातिको मातृभाषा त्यसको संस्कृतिकै अभिन्न अंग हो । त्यसैले संस्कृति संकटमा रहुन्जेल मातृभाषा फस्टाउन सक्दैैन । मातृभाषा कुनै खास भौतिक, सामाजिक र सांस्कृतिक परिस्थितिसँग अन्तरकृया गर्दै सिकिने कुरो हो । ती परिस्थिति नै हराएपछि भाषाको प्रयोग हराउनु स्वाभाविकै हुन्छ । नयाँ–नयाँ सामाजिक र सांस्कृतिक परिस्थिति व्यक्त गर्न हामीले आफ्नै मातृभाषाको पनि सामथ्र्य बढाउँदै लग्यौं भने मात्र हाम्रो मातृभाषा जीवन्त हुन्छ, नत्र मातृभाषा एक दिन गएर लोप हुने अवस्थामा पुग्छ । आफ्नो भाषा र संस्कृति देखाएरै हरेक जातिले आफूलाई संसारको अरू सबै जातिभन्दा फरक भनेर चिनाउन सक्छ । न्यायिक पटलहरूमा मुद्दासँगै आएका कतिपय शब्दहरू, जो पक्षहरूको मातृभाषाबाट आएका हुन्छन्, जसलाई न्यायिक प्रणालीको भाषामा हुबहु अनुवाद गर्न सकिन्न, अथवा भनौं अनुवादले वास्तविक भाव प्रकट गर्न सक्दैन भने ती शब्दहरू कालान्तरमा न्यायिक शब्दकोशको हिस्सा बन्न पुग्दछ ।
    त्यसैगरी कुनै घटनाक्रमले पनि कुनै मातृभाषा विशेषको शब्दलाई अन्तर्राष्ट्रिय दर्जामा पनि पुर्‍याउन सक्दछ । स्थानीय पहिरन, खानपान, संस्कृतिका शब्दहरू पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषिक प्रचलनको हिस्सा बन्न पुग्दछ । उदाहरणका लागि मैथिली भाषाका लाठी, घी जस्ता शब्द अंग्रेजी शब्द कोशको हिस्सा बन्नपुगेकोलाई लिन सकिन्छ ।
    भूमण्डलीकरणको वर्तमान दौडमा देशहरूको भौगोलिक दूरी हराउँदैछ । समय र गति आज महत्त्वपूर्ण हुँदै गइरहेका छन् । बजार भाषा व्यवसायको दुनियाको एक मापदण्ड बनिरहेको छ । त्यसकारण यो महत्त्वपूर्ण छ कि हामीले हाम्रा कमजोरीहरू बुझ्न सकौं र आफ्नो लक्ष्य हासिल गर्न योजना बनाऔं । मातृभाषाका वक्ताले नै रहर नगरेसम्म, वक्ता नै पूर्ण निष्ठाले दिलोज्यान दिएर नलागुन्जेल सरकारले चाह्यो नै भने पनि वक्ताले रुचि नै देखाएन भने कसैको मातृभाषा, लोकपरम्परा र संस्कृति जोगिँदै जोगिँदैन । मातृभाषीको मुख र हातमा नै मातृभाषाको रक्षाको अभिभारा रहेको छ । (लेखक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस

ताजा अपडेट