News Category 2077/11/19

सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार

दैनिक समाचारदाता

सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 
    राजविराजका चर्चित व्यापारी, जग्गा कारोबारी तथा एक आइएमइ शाखा संचालक सिन्धी दाजुभाई तीन दिनदेखी करोडौ रकम लिएर सम्र्पकविहिन भएका छन् । 
    विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौ रुपैया लिएर फरार भएपछि अहिले सप्तरी सदरमुकाम राजविराजमा खैलाबैला मच्चिएको छ ।
    राजविराजको मुटुमै रहेको गजेन्द्र चौकमा कपडा पसल र आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिन्धी र उनका दाई संजय सिन्धी तीन दिनदेखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनेहरुको ओइरो लागेको छ । 
    सुनिल र संजय सहोदर दाजुभाई हुन् । उनीहरुले आफ्नो नाममा रहेको सबै सम्पत्ति समेत गोप्य ढंगले बिक्रि गरि आइएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
    विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएको पाइएको छ । रकम माँग गर्दा कहिले कम्प्युटर खराब, त कहिले नेट बिक्रेको छ लगायतका विभिन्न बहाना बनाउँदै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी आलटाल गर्ने गरेको पीडितहरुको भनाई छ । 
    पीडित मध्येका विष्णुपुर गाउँपालिका ७ का बिन्देश्वर मण्डलले मलेशियाबाट छोरा प्रमोदले २ लाख १८ हजार रुँपैया पठाएको सुनाए । उनले रकम भुक्तानी लिन आउँदा कागजमा पहिले नै सही गराएपनि दुई दिनपछि आउन भन्दै भुक्तानी नदिएको गुनासो पोखे । उनलाई बुधबार बोलाइएकोमा सोही दिन आउँदा दाजुभाई दुबै फरार भइसकेको थाहा पाएपछि विचल्लीमा परेका छन् ।
    त्यस्तै डाक्नेश्वरी नगरपालिका २ की लालो खतुनले बहिनीको विवाहका लागि छोराले कतारबाट आफ्नो नाममा पठाएको ९ लाख रुँपैया एक साता अघि नै भुक्तानी लिन आएकोमा विवाहको बेलामा लैजानु होला, पैसा यही सुरक्षित रहन्छ भन्दै दाजुभाईले आलटाल गरेका थिए । उनी पनि बुधबार रकम लिन आएपछि अफिस नै बन्द रहेको देखेपछि प्रहरी कहा पुगेकी थिइन् ।
    यस्तै महदेवा गाउँपालिका २ का बिनोद मण्डल, श्यामादेवी मण्डल, बिष्णुपुर गाउँपालिकाका रामप्रित यादव, राजगढ गाउँपालिकाका दिनेश मण्डल, राजविराज ७ का श्रवण दास, डाक्नेश्वर नगरपालिका ५ का महेश महतो, सत्रुहन मण्डल लगायतका गरि २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका छन् । 
    यस्तै भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम अझ जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ । 
    जग्गा कारोबारी समेत रहेका आइएमइ संचालक दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइल नं. ९८०१५०००११ र ९८१५७१४५३५ लगातार स्विच अफ रहेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले पीडितहरु सबैको जाहेरी लिने कामसँगै यस बारे आवश्यक अनुसन्धान पनि सुरु गरिएको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट